पूर्वका दर्शनको विकास प्रक्रिया
पूर्वका दर्शनको विकास प्रक्रिया टिकाराम आचार्य ‘आरुणि’ सारः यस आलेखमा पूर्वीय दर्शनको विकास प्रक्रियाको सामान्य आरेख प्रस्तुत गरिएको छ । वैदिक कालदेखि लिएर आधुनिक कालसम्मका दार्शनिकहरूको समान्य परिचय र तिनका कृतिको विवरण एवं समयको जानकारी गाराइएको छ । प्रस्तुत आलेखलाई व्यवस्थित गर्नका लागि सात अध्यायमा विभाजन गरिएको छ । यस आलेखबाट पाठकले दर्शनको विकासबारे सामान्य जानकारी प्रप्त गर्न सक्नेछन् । १. विषय प्रवेश पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर ‘‘ऋग्वेद’’लाई मानिदै आएको पाइन्छ । ‘वेद’ समावेशात्मक अर्थयुक्त शब्द रहेको पाइन्छ । जस अन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उनिषद् आदि समावेश भएको पाइन्छ । वैदिक कालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा र अन्य, २०६९ः ४८) । मानवीय सभ्यताको विकासमा पूर्वीय आर्यहरूको इतिहास, समाजिक नीति, चालचलन, मूल्य र मान्यता, सदाचार, दर्शन र धर्मको पूर्वाधार वेद रहेको बुझिन्छ (मिश्र, सन् २०१२ः ४७) । वेद, ब्राह्मण र आरण्यक आदि ग्रन्थहरूमा द...