सांख्य दर्शनका आचार्यहरु
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका लागि तयार परिएको छलफल पत्र, २०७२÷०१÷१२ । सांख्य दर्शनका आचार्यहरु टीकाराम आचार्य आरुणि १.सांख्य दर्शनको पृष्टभूमि वैचारिक दृष्टिले दक्षिण एसियाली दर्शनमा सांख्य दर्शनको एक विशिष्ट स्थान रहेको छ । मीमांसा, वैशेषिक, न्याय र योग दर्शनको विचारले गतिशील विश्वको वैचारिक व्याख्या गर्न असमर्थ भएको ठान्दै सांख्य दर्शन एक पाइला अगाडि बढेर आना विचारहरू प्रस्तुत गरेको छ । यसले सृष्टिको रचना प्रक्रियाको वर्णन गर्दै पूर्वीय विकासवादको प्रर्वतन गरेर ‘अलौकिक तत्त्वबाट सांसारको रचना भएको’ भन्ने अन्य पूर्वीय दर्शनको प्रखर खण्डन गरेको छ । यस दर्शनका विचारमा यो संसार कुनै सृष्टिकर्ता ईश्वरको कार्य होइन बरु यो संसार असंख्य आत्माहरू तथा सदा कर्मशील प्रकृतिको परस्पर पतिक्रियाको परिणाम हो (राधाकृष्णन्, २०१३ ः २१४) । ऋग्वेदमा सांख्य दर्शन सम्बन्धी सामान्य विचाहरू प्रस्तुत गरिएको पाइन्छ । ऋग्वेदमा विश्व विज्ञानका वारेमा चर्चा गरिएको छ । त्यहाँ प्रकृति र पुरुषका सैद्धान्तिक धारणाका बारेमा अस्पष्ट विचार पाइन्छ (ऐजन, २१५) । उपनिषद्मा सांख्य द...