राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन by aruni acharya
राजेश्वर देवकोटाको ‘उत्सर्ग प्रेम’ उपन्यासमा सांख्य दर्शन
टीकाराम आचार्यआरुणि
१. विषयवस्तु
गोर्खा जिल्लाको लिगलिग गा.वि.स.मा वि.सं. १९८६ सालमा जन्मिएका राजेश्वर देवकोटा मध्यमवर्गीय परिवारका हुन् । उनले पिता हरिभक्त देवकोटा र माता बसुन्धरा देवकोटाका जेठा सुपुत्रका रुपमा जन्मी, हुर्की, आफ्ना पण्डित पिताबाटै आरम्भिक शिक्षा ग्रहण गरेका हुन् । उनले संस्कृत साहित्यमा शास्त्री, अंग्रेजीमा बी.ए. र हिन्दीमा साहित्यरत्नसम्मको औपचारिक अध्ययन गरेको बुझिन्छ । उनले औपचारिक अध्ययनका अतिरिक्त, कला, साहित्य र दर्शनका बारेमा प्रशस्त स्वाध्ययन गरेको पाइन्छ । हिन्दी भाषाबाट कलम चलाएका देवकोटाले कविता विधाबाट लेखनको आरम्भ गरेका पनि खुल्न आउँछ । साहित्यका क्षेत्रमा देवकोटाले निबन्ध बालसाहित्य जीवनी साहित्य, कविता, कथा र उपन्यास विधामा क्रियाशिलता रहेको देखिन्छ । उनका कृतिहरु निबन्ध विधातर्फ ‘शाही भोज’ (२०१४) ‘नेपाली निबन्धावली’ (२०१८) (सहलेखन), बाल साहित्य तर्फ ‘बाल साहित्य’ (सहलेखन), जीवनी साहित्यतर्फ ‘हाम्रा पुर्खाहरु’ (२०२४), कविता सँगालोका रुपमा ‘युगकाव्य’ (२०३९) र उपन्यास विधातर्फ ‘आवर्तन’ (२०४१), ‘द्वन्द्वको अवसान’ (२०४२), ‘पूर्वकथा’ (२०४३), उत्सर्ग प्रेम (२०४४), ‘पूर्णिमा’ (२०५४) र ‘डबली’ (२०५९) प्रकाशित रहेका पाइन्छ । यसका अतिरिक्त विभिन्न साहित्यिक पत्रपत्रिकामा उनका फुटकर साना कथा, कविता र निबन्ध पनि प्रकाशित रहेका देखिन्छन् । यसरी हेर्दा देवकोटाले गद्य र पद्य विधातर्फ कलम चाए पनि पद्यविधामा भन्दा गद्य विधामा बढी क्रियाशील रहेको देखिन्छ । त्यसमा पनि गद्याख्यान उपन्यासमा उनको विशेष रुचि र सीप रहेको पाइन्छ । निबन्ध तथा अन्य विधामा प्रशस्त अभ्यास गरेर मात्र देवकोटा उपन्यास लेखनतर्फ आकर्षित भएका र उनको पूर्वाभ्यासले उपन्यास लेखन लाभान्वित भएका पाइन्छ । उनका उत्कृष्ट कृति ‘पूर्वकथा’ र ‘उत्सर्ग प्रेम’लाई साझा र मदन पुरस्कार पनि प्रदान गरिएको छ । ‘द्वन्द्वको अवसान’ उपन्यास त्रि.वि. स्नातक तहको ऐच्छिक नेपाली विषयको पाठ्यक्रममा समावेश गरिएको छ । उनका आधा दर्जन उपन्यासमा आफ्नो स्वाध्ययनबाट प्राप्त पूर्वीय दर्शन चिन्तनको रन्को पनि भेटिन्छ । त्यसैले उनका उपन्यासले बौद्धिक पाठकको अपेक्षा गरेका पाइन्छ ।
२. विषय विश्लेषण ः
देवकोटाले आफ्ना उपन्यासमा विषयका रुपमा भाव वा चिन्तनलाई विशेष रुपमा समावेश गरेको देखिन्छ । उनले ईश्वर, प्रकृति, मानव, जीवन, कला र भौतिक विज्ञान जस्ता सांसारिक विषयमाथि आफ्ना विचारहरु प्रतिपादन गरेको पाइन्छ । उनका उपन्यासमा प्रकृतिको गति र रहस्यात्मकता माथि प्रकाश पार्दै अन्त्यमा आएर प्रकृतिको गतिसँगै जीवनलाई समयोजन गर्नुपर्छ भन्ने विचारहरु प्रस्तुत गरिएको पाइन्छ । खास गरेर पूर्वीय साङ्ख्य दर्शनको प्रभाव र प्रेरणा उनका कृतिहरु प्रशस्त रुपमा परेको पाइन्छ ।
साङ्ख्य दर्शनको सम्बन्ध संख्यासँग रहेको हुन्छ । यसका प्रकृति, पुरुष आदि चौबीस तत्वलाई प्रथमिकता दिएर विवेचना गरिने हुनाले यस दर्शनको नाम साङ्ख्य रहन गएको हो भन्ने मत रहेको छ ।
सङ्ख्या प्रकुर्वते चैव प्रकृतिं च प्रचक्षते
तत्वानि च चतुर्विंश तेन साङ्ख्या प्रर्कीतिता ।
भन्ने साङ्ख्य दर्शनको परिचय पनि साङ्ख्यसूत्रंको भूमिका प्रस्तुत गरिएको छ । उपनिषद्, श्रीमद्भगवद्गीता, स्मृति ग्रन्थ, पुराण र ब्रह्मसूत्रम्मा यस दर्शनको चर्चा गरिएको हुनाले यस दर्शनको प्राचीनता स्वतः स्पष्ट हुन आउँछ । ‘सत्कार्यवाद’ साङ्ख्य दर्शनको बीजभूमि हो । कार्यकारिणी सिद्धान्त नै सत्कार्यवाद हो । कार्य आफू उत्पत्ति हुनुभन्दा पहिले कारणका रहेको हुन्छ । नासतो विद्यते भावो नाभावो विद्यतेसत । (गीता, २।१६) मिथ्या वस्तुको सत्ता हुँदैन । सत्य वस्तुको असत्य हुँदैन यो दार्शनिक चिन्तन हो ।
संसारमा दुःखको सार्वभौमिकतालाई स्वीकार गरी त्रिविध ताप (आध्यात्मिक, आदिदैविक, आदिभौतिक) बाट छुटकारा पाउनु मानवीय लक्ष्य हुन पुग्छ । यसैलाई मोक्ष पनि भनिन्छ ।
संसारको सृष्टिमा ईश्वर कारण रहँदैन भन्ने मान्यता राख्ने यो दर्शनले आत्मालाई पुरुषको रुपमा मानेको हुन्छ । पुरुष सबै ज्ञानको अधिष्ठाता हो प्रकृति भनेकी भोग्या हुन् । भोक्ता मात्र पुरुष हो । दुःखमय संसारभन्दा पर आत्मामा अशरीर पुरुष रहेको हुन्छ । त्यही नै आत्मा हो, मान्यता सांख्यदर्शनको रहेको हुन्छ । अन्धो र लङ्गडो व्यक्तिले एक अर्काको सहयोगमा हिँडे झैँ जड प्रकृति र चेतन पुरुष एक अर्काका स्वार्थ सिद्धिले चल्ने गर्दछन् । साङ्ख्य दर्शनलाई एक प्रकारको नियमित आकस्मिकताका रुपमा पनि कतिपय विद्वान्हरुले व्याख्या गरेका छन् । सृष्टिकर्ता ईश्वर नभए पनि व्यवस्थापिकीय हैसियत ईश्वरले ग्रहण गरी अस्तित्व प्राप्त गरेको हुन्छ, भन्ने मान्यता सांख्यदर्शनको रहेको छ ।
३. ‘उत्सर्ग प्रेम’ उपन्यासमा वैचारिकता
राजेश्वर देवकोटाको चौथो उपन्यास ‘उत्सर्ग प्रेम’ (२०४४) हो । यस उपन्यासमा जम्मा सय पृष्ठ रहेका छन् । यस किसिमको उपन्यासको लम्बाइले मध्यम आकृति सिर्जना गरेको छ । खास गरेका दर्शनका तीन ओटा केन्द्रहरु रहेका हुन्छन् । ईश्वर, प्रकृति र मानव । यी तीन केन्द्रका बारेमा अध्ययन गर्दा र यी तीनैका सम्बन्धमा आफ्ना विचारहरु प्रस्तुत गर्दा दर्शन बन्न पुग्दछ । ईश्वरलाई केन्द्र मान्दा ईश्वरीय र रहस्यात्मक दर्शन बन्न पुग्छ भने प्रकृतिलाई केन्द्रमा राख्दा प्रकृतिवादी दर्शन बन्न पुग्छ । मानवलाई केन्द्रमा राख्दा मानवतावादी दर्शन बन्न पुग्दछ ।
यस उपन्यास मानवीय जीवन के हो ? भन्ने प्रश्नका साथ उठान गरिएको छ । त्यही वास्तविक जीवनको खोजी नै ‘उत्सर्ग प्रेम’ को खोजी हो । त्यसको उत्तरमा भनिएको छ । ‘वृथा हो भन्ने जान्दाजान्दै पनि प्रवृत्त भइरहनु जीवन हो’ । पृ. १ यो वाक्य नै ‘उत्सर्ग प्रेम’को बीज वाक्य हो । उपन्यासको आरम्भमा भनिएको छ । ‘जसको आदि र अन्त्य छैन त्यही त सबैको साझा हो ।’ यहाँ आदि भनेको आरम्भ र अन्त्य भनेको समाप्ती हो भनिएको छ । आदि र अन्त्य नभएको रहस्यात्मक कुरा मात्र ईश्वर हुन सक्ने र त्यो पनि रहस्यात्मक ईश्वरको आत्म हुन सक्ने कुरा व्यक्त गरिएको छ । यहाँ उपस्थित ‘जस’ सर्वनाम शब्दले मात्र कुनै रहस्यात्मक वस्तुलाई संकेत गर्न खोजेको छ । त्यसैले त्यस रहस्यात्मक ईश्वरलाई कसैले पेवा बनाउन सक्दैन । त्यसैले त्यो सबैको साझा हो । जसरी पानीलाई जस्तो भाँडोमा राख्यो त्यस्तै स्वरुपमा परिवर्तन हुन्छ । ठीक त्यस्तै गरी ईश्वरलाई पनि जसले जसरी ग्रहण गर्छ त्यसरी नै त्यस ग्राहकका मन मस्तिकमा उपस्थित हुन्छ । अतः गीतामा भनिएको छ ः
यादृशी भावनायस्य सिद्धिर्भवति तादृशी ।
यस उपन्यासको बीजवाक्यमा आएको ‘वृथा’ शब्दले कुनै पनि अर्थ नभएको, व्यर्थ, निरर्थक र बिना उपयोगी भन्ने अर्थ बुझाउँछ । यसको अर्थ के हो भने मानवीय शरीर वृथा भए पनि त्यसैप्रति प्रवृत्त (सक्रिय सांसारिक जीवनप्रति सक्रिय तरिकाले भाग लिनु) भइरहनु, जीवन हो । अर्थात् शरीर नश्वर (नाशवान्) छ, भन्ने ज्ञान हुँदाहुँदै पनि शरीरकै पछाडि लाग्नु जीवन हो । यस सन्दर्भले यस उपन्यासलाई एकातिर असत्यको बाटोबाट सत्यको खोजी गर्नुपर्छ भन्ने तर्फ आकृष्ट गरेको छ भने अर्कातर्फ प्रेमको नित्यता, नवीनता र शालीनतातर्फ पनि सङ्केत गरेको छ । प्रेमको आदि र अन्त्य छैन । प्रेम नित्य छ । प्रेमको कुनै दायरा, घेरा, सीमा र बन्धन छैन । भनिएको छ भने अर्कातिर शाश्वत सत्य (ईश्वर) को खोजी पनि गरिएको छ ।
यस उपन्यासको अर्को पात्र बिरामको धारणा छ ः ‘आफूलाई बिर्सिदिनु जीवन हो’ । पृ.१. यसको धारणा के हो भने आफ्नो बाहिरी शारीरिक आवरणलाई बिर्सिदिनु नै जीवन हो । अर्थात् बोक्रालाई फालेर गुदीको चिन्तन गर्नु नै जीवन हो । जबसम्म ‘म’ र ‘तँ’ भन्ने भेद रहन्छ तबसम्म आत्माको साक्षात्कार हुन सक्दैन । त्यसैले आत्माको साक्षात्कारका लागि आफूलाई बिर्सेर आत्माको स्मरण गर्नुपर्छ भन्ने धारणा बिरामको हो । वास्तवमा अधिकांश विद्वान्हरुले जुन सत्वलाई आत्मा भनेका छन् त्यही सत्तालाई साङ्ख्य दर्शनले पुरुष भनेको छ । पुरुष र आत्मा एउटै तत्त्वका विभिन्न नाम हुन् । साङ्ख्य दर्शनले पुरुषलाई शुद्ध चैतन्य मानेको छ । त्यो चैतन्य सदैव आत्मामा निवास गर्दछ । वास्तवमा आत्मालाई जाग्रत्, स्वप्न र सुषुप्ति जुन अवस्थाको माने तापनि त्यसमा चैतन्य रहिरहने हुनाले त्यो आत्माको गुण नमानेर स्वभाव मान्नुपर्दछ । आत्मा ‘ज्योति’ अथवा प्रकाश हो । जसले आफूलाई मात्र प्रकाशित नगरेर संसारका सबै वस्तुहरुलाई प्रकाशित गर्दछ । आत्मा शरीर, इन्द्रिय, बुद्धि र अहंकार भन्दा पनि भिन्न तत्व हो । जसलाई गीतामा यसरी भनिएको छ ः
इन्द्रियाणि पराण्याहु रिन्द्रियेभ्य परंमनः
मनसस्तु परा बुद्धिर्यो बुद्धे परतस्तु सः ।
श्रीमद्भगवद्गीता ३.४२
अर्थात् स्थूल शरीर ‘विषय’ हो । इन्द्रियहरु बाह्यकरण हुन् भने मन र बुद्धि अन्तःकरण हुन् । यिनमा स्थूल शरीर (दृश्यमान) भन्दा श्रेष्ठ, सबल र प्रकाशक इन्द्रिय हुन् । इन्द्रिय भन्दा श्रेष्ठ, सबल, प्रकाशक र सूक्ष्म बुद्धि हो । बुद्धिभन्दा श्रेष्ठ अहम् हो । अहम् नै कर्ता हो । त्यही अहम्
(कर्ता) मा नै लौकिक इच्छा लुकेर रहेको हुन्छ । भन्ने गीताको यस श्लोकको तत्पर्य हो ।
यस उपन्यासमा बिरामले आफूलाई जड वा प्रकृतिजन्य शरीरका रुपमा व्याख्या गरेको छ । जब चेतना जड वस्तुका साथ तदाकार हुन्छ तब ‘अहम्’ को उत्पत्ति हुन्छ । त्यसको स्वरुप कर्ता बन्न पुग्दछ । यस प्रकार कर्तामा दुई ओटा अंश हुन्छन् जड र चेतन । जब मानवमा ‘जड’ को अंश बढी हुन्छ तब संसारतर्फ आकर्षित हुन्छ भने ‘चेतना’को अंश बढी हुँदा ईश्वरतर्फ आकर्षित हुन्छ ।
यस उपन्यासमा अर्की पात्र छे सुरुपा । सुरुपा पनि अनन्त र बिराम जत्तिकै विदुषी नारी हो । ऊ उमेरले सानी देखिए पनि विचारमा तेजिली छ । एउटा मामुली .....ले पनि शाश्वत नियमको पालना गरे जस्तो मानिसले पनि कुनै शाश्वत नियमको पालना गर्नै पर्छ भन्ने धारणा सुरुपाको रहेको छ । उसको धारणा यस्तो छ ः
‘..... एउटा–एउटा सानो पन्छी पनि आफ्नो–आफ्नो जीवन चलाउनका लागि जुन नियमको पालना गर्छन् त्यही त जीवन हो । जीवनको दर्शन गर्न न अनन्तमा चाहर्नुपर्छ न त त्यसको कही बिराम नै छ’ पृ.३ ।
‘आफूतिर हेर’ पृ.४ ।
सुरुपाको यस भनाइले प्रकृतिवादी दर्शनतर्फ आमुख गराएको पाइन्छ । सबै जीवजन्तुका आफ्ना नियम छन्, वास्तविकता छन् र उनीहरु बाँच्नका लागि चाहिने आवश्यकताहरु छन् । अर्थात् उनीहरुलाई सञ्चालन गर्न कसैको नियम चाहिदैन मात्र प्रकृतिको नियम काफी छ । आफ्नो जीवन दर्शनका लागि अनन्तमा चाहार्नु आवश्यकता छैन । न त त्यो चाहाराइको कुनै अन्त्य छ । त्यसैले आफूले आफूलाई चिन अथावा ‘आफूतिर हेर’ । त्यही सुरुपाको भनाइलाई लेखनाथले यसरी भनेका छन् ‘बुद्धिविनोद’मा ः
कहाँ थियो बास अघि म को थिएँ
कसो हुँदा यो पिँजरा लिँदो भएँ
कहाँ छ जानु कुन साथ लिइकन
तँलाई मालुम छ कि यो कुरा मन ।
बुद्धिविनोद १.१
खासमा लेखनाथको यस भनाइले मानिसको पूर्वबास अव्यक्तमा थियो । मानिस त्यही अव्यक्तमा लीन थियो । अज्ञानको कारण जन्म लियो र जहाँबाट आएको हो त्यहीँ फर्केर जानुपर्छ भन्ने भाव व्यक्त गरेको छ । यो लेखनाथ पौड्यालको उत्तरले ईश्वरको छिटाबाट मानिस बनेको र फेरि त्यहीँ गएर लीन हुने कुरा व्यक्त गरेको छ भने सुरुपाको कुराले प्रकृतिबाट उत्पन्न भएको मानिस प्रकृतिमा नै बिलाउँछ भन्ने कुरा स्पष्ट भएको छ । श्रीमद्भगवद्गीतामा पनि सुरुपाकै कुरालाई यसरी भनिएको छ ः
प्रकृतेक्रियमाणानि गुणैकर्माणिसर्वश ।
अहंकार विमूढात्मा कर्ताकहमितिमन्यते ।
श्रीमद्भगवद्गीता ३.२७
यो सम्पूर्ण संसार प्रकृतिको नियमबाट सञ्चालित छ । प्रकृतिले नै सम्पूर्ण प्राणीहरुका जीवनका नियम प्रदर्शन गरेको छ । त्यसैले सम्पूर्ण संसारको नियामक प्रकति हो । यसका अतिरिक्त अरु केही छैन । अझ स्पष्ट रुपमा भन्नुपर्दा जुन समष्टि शक्तिले वृक्ष, शरीर, जन्तु आदि उत्पन्न हुन्छन्, बढ्छन्, नास हुन्छन्, नदी प्रवाहित हुन्छन् । त्यही समष्टि शक्तिबाट मनुष्यले खाने, पिउने, देख्ने, सुन्ने आदि काम सम्पन्न गर्न सक्छ । तर मानिस घमण्डले मोहित भएर अज्ञानताका कारणले मैले नै काम सम्पन्न गरेको हुँ भन्ने ठान्दछ । प्रकृतिबाट उत्पन्न सत्व, रज र तम गणहरु यिनै तीन गुणका कार्य बुद्धि, अहंकार, पञ्चमहाभूत (जल, तेज, वायु, आकाश, पृथ्वी) दश इन्द्रिय र इन्द्रियका विषय पनि प्रकृतिकै गुण हुन् । अतः ‘अहम्’ (कर्ता) पनि प्रकृतिको एकै अंश भयो । अब कर्ताले गरेको काम पनि प्रकृतिले गरेको काम नै हुने भयो । त्यसैले सबै काम प्रकृतिले नै सम्पन्न गर्ने भयो । अतः प्रकृति वा त्यसका गुणले नै संसारलाई सञ्चालन गर्ने भयो ।
सुरुपाले समाजमा उपस्थित भएर स्थापित भइसकेका जीवन दर्शन उपेक्षा गर्दै प्रेम, आशा र उत्साहको जीवन दर्शन प्रक्षेपण गरेकी छे । उसले रहस्यले भरिएको सिङ्गो ब्रह्माण्डको खोजी गरेकी छे । उसले जीवनमा बिर्सिदिनुमा ‘आनन्द छ’ भनेकी छे । उसका विचारसँग पूर्वीय आचार्यका विचार मिल्न गएका छन् ः ‘सत्यम् ज्ञानमनन्तम् ब्रह्म’ । सत्य ज्ञान स्वरुप र अन्त नभएको कुरा नै ब्रह्म हो । त्यसैले त्यही सत्यको खोजीका लागि अनन्त र सुरुपा पात्र उपस्थित भएका छन् । सुरुपाले ‘रहस्यात्मक आत्मा भनेको केही मलाई थाहा छैन । कुनै कुरा ठोकेर भन्नु र त्यसैमा आफू अल्मलिनु भविष्यका लागि अभिशाप हो । त्यसैले ठोकेरै आफ्नो आत्मा यस्तै छ भनी कसैले भन्न सक्दैन’ भनेकी छे । यस धारणाबाट वर्तमानलाई सुधार गरियो भने भविष्य राम्रो हुन्छ भनिएको छ ।
यस उपन्यासको पात्र अनन्त विश्वास हो र ऊ आजको यथार्थ हो । अनन्त मनुष्यातीत यथार्थ पनि हो । संसारका सबै चिज चालचलन चलायमान छन् । चलायमान संसारको नियन्ता ईश्वर हो । ईश्वरसँगैको सहबासका लागि वैराग्यको आवश्यकता पर्दछ । वैराग्यको तात्पर्य संसार नश्वर छ भन्नु हो । धन, दौलत, घर, गृहस्थी र संसारका यावत् भौतिक पदार्थहरु निरर्थक छन् । मात्र ईश्वरीय चिन्तन मात्र शाश्वत कुरा हो । मानिसमा विभिन्न किसिमका पशुत्वहरु विद्यमान रहेका हुन्छन् । ती पशुत्वहरुबाट उन्मुक्त रहनु नै जीवन दर्शन हो । जीवनको लक्ष्य हो । आशा (आत्मासँग पक्कै मिलन हुन्छ भन्ने विश्वास)ले मानिसलाई ईश्वरप्रति प्रवृत्त बनाइरहन्छ । तर सांसारिक आशा (तृष्णा) ले मानिसलाई ईश्वरबाट विमुख बनाइदिन्छ । त्यसैले निराशा (ईश्वर प्राप्त हुन्न) मानिसको स्वभाव होइन । पृ.११
मान्छेको जीवन सौन्दर्यले भरिएको छ । त्यसैले जीवन सौन्दर्य हो । अनन्त स्वभाव हो भने बिराम बिराम नै हो । बिरामको अर्थ पूर्णता ‘आफूलाई बिर्सिदिनु जीवन हो’ भन्ने बिरामको बिर्सिदिनु भन्ने भनाइ नै बिराम हो । बिराम एक सानो प्राणी भएर आफ्नो जीवन टुङ्ग्याउन चाहन्छ तर जीवन त्यति छोटो र त्यति हल्का छैन । जीवनको रहस्य धेरै छ । जीवनलाई चिन्ने मार्गहरु धेरै छन् । ती सही मार्गमध्ये सही मार्ग भनेको आफ्नो आवरणलाई बिर्सिदिनु हो । सुरुपाले यही भनेकी छे उपन्यासमा ः
सूर्यको प्रकाश अनन्त छ दिग्दिगन्त छ
कयौँ तारा नक्षत्र छन् समीपमा चन्द्रमा छ
तर मलाई मेरो आफ्नै टुकीको भर छ
जो मेरो कुटीभित्र मेरै अधिनमा छ ।
यस सुरुपाको भनाइबाट जति पनि अर्थ निस्कन सक्छ । अर्काको प्रकाशको भरमा नपरी आफ्नै टुकीको सहायताले आँखा देख्नुपर्छ । त्यो टुकी भनेको भित्री ज्ञान हो । ज्ञानबिना मानिसले आफ्नो जीवनको वास्तविकता पत्ता लगाउन सक्दैन । ज्ञान नै संसारको सबै भन्दा ठूलो वस्तु हो । त्यसैले मानवले आफ्नो जीवन चिन्नका लागि ज्ञानको आवश्यकता पर्दछ । तिमी भित्र प्रकाश (सूक्ष्म ईश्वर) छ । त्यही ईश्वरद्वारा प्रकाशित तिमी आफूले आफूलाई नै राम्ररी चिन्ने प्रयास गर । जसका लागि असल ज्ञानको आवश्यकता पर्दछ । भन्ने यस कथनको आशय हो । गीतामा पनि भनिएको छः
नहिज्ञानेन सदृशम् पवित्रमिह विद्यते
तत्स्वयम् योगसंसिद्ध कालेनात्मनी विन्दति ।
श्रीमद्भगवद्गीता ५.३८
मनुष्यको जीवन आशा र संकल्प हो । आशाले मानिसलाई प्रवृत्तितर्फ डो¥याउँछ भने सङ्कल्पले काम गर्ने ‘उत्साह, प्रेरणा र शक्ति’ प्रदान गर्दछ । मान्छेको मन चञ्चल छ । मनलाई सङ्कल्प र विकल्पको भण्डार भनिन्छ । सङ्कल्प र विकल्प भएर नै मानिस मानिस भएको हो ।, यदि संकल्प नै नभए मानिस मानिस हुने थिएन । मानिस हुनु नै मान्छेको जीवन हुनु हो । जीवन हुनु नै त्यसभित्र रहस्य हुनु हो । सरुपा भन्छे ः ‘यत्रतत्र जीवन छ, जहाँ जीवन छ त्यहाँ जवानी छ’ जीवन पनि सिर्जनशील हुन आवश्यक छ । नयाँ–नयाँ वस्तुको खोजीमा लाग्ने जीवन नै जीवन हो । निराशावादी हुन जीवन होइन ।’
उपन्यासअनुसार पुरुषलाई ‘जड’ भनिएको छ । तर सांख्य मतअनुसार पुरुषको अर्थ नजन्मने, न उत्पादक, निष्क्रय तथा प्रकृतिको दर्शक भनिएको छ । यहाँ बिराम प्रकृतिको दर्शक भएर आएको छ । सरुपा प्रकृति हो बिराम पुरुष हो । त्यसैले सिर्जनातर्फ पुरुषको भन्दा प्रकृतिको महत्वपूर्ण हात रहेको हुन्छ । उपन्यासमा प्रकृतिलाई सिर्जनशील भनिएको छ भने पुरुषलाई जड भन्दा अधिक केही होइन भनिएको छ । यसरी नारीलाई सृष्टिको मूल कारकका रुपमा मानेर प्रकृतिको उदारता, शालीनता र सिर्जनात्मकताको प्रतिपादन गर्ने सांख्य दर्शनको प्रभाव प्रस्तुत उपन्यासमा छ ।
४. उपसंहार ः
यस उपन्यासमा कपिल मुनि तथा ईश्वर कृष्णद्वारा प्रवर्तन र संवर्धन गरिएको साङ्ख्य दर्शनको प्रभाव मुख्य रुपमा छाडिएको छ । प्रकृति र पुरुषको आकर्षणबाट सृष्टि सम्भव हुन्छ । प्रत्येक गुणले आफूभन्दा भिन्न गुण भएका वस्तु तथा पदार्थलाई दबाउन प्रयत्न गर्दा एक प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । त्यही प्रतिक्रियाको हलचलबाट सृष्टि आरम्भ हुन्छ । जब पुरुषलाई आफ्नो शुद्ध स्वरुपको ज्ञान हुन्छ तब पुरुष मुक्त हुन्छ भन्ने साङ्ख्य दर्शनले पुरुषको स्वरुपको अज्ञानतालाई बन्धन भनेको छ । जब आत्मा (पुरुष) मुक्त हुन्छ । तब उसमा विकार आउँदैन । कुनै गुण वा धर्मको आविर्भाव हुँदैन । मोक्ष वा कैवल्य कुनैको पनि पूर्ण अवस्था हुन सक्दैन । मुक्ति वा मोक्षको अर्थ आत्मा देशकाल भन्दा श्रेष्ठ र मनभन्दा भिन्न स्वभाविक रुपमा मुक्त, नित्य र अमर हुन्छ भन्नु हो । यस्तो अनुभूति हुँदा सम्पूर्ण शरीर र मनका सम्पूर्ण विकारहरु बन्द भएका हुन्छन् भनी भनिएको छ । यस ‘उत्सर्ग प्रेम’ उपन्यासमा कपिल मुनिको साङ्ख्य दर्शनको जालो बुनिएको छ र प्रकृति र पुरुषको व्याख्या गर्दै भविष्य सपार्नका लागि वर्तमानमा सत्कर्म गर भनिएको छ ।
सन्र्दग्रन्थसूची
चालिसे, नारायण (२०६९), प्रथम सं. पूर्वीय दार्शनिक मान्यतामा कोइरालाका उपन्यास दाङः वी.पी. चिन्तन केन्द्र ।
देवकोटा, राजेश्वर (२०४४), उत्सर्ग प्रेम, दोस्रो सं., ललितपुरः साझा प्रकाशन ।
पौडेल, विष्णुप्रसाद (२०६९), समकालीन नेपाली साहित्य चिन्तन । उपन्यास समालोचना, पोखरा ः सुलोचना खनाल ।
पन्त, नयनराज (२०६०), बुद्धिविनोद प्रश्नावली र त्यसको उत्तर, काठमाडौंः खिलशर्म राजीवलोचनजोशी स्मारक प्रतिष्ठान ।
बराल, कृष्णहरि र एटम, नेत्र (२०५३) दोस्रो सं. उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुरः साझा प्रकाशन ।

Comments
Post a Comment