कालभैरब मन्दिर बलेवा KALBHAIRAB MANDIR BALEWA BAGLUNG


कालभैरब मन्दिर बलेवा
टीकाराम आचार्य ‘आरुणि’ 
जैमिनी न.पा.१ कुस्मिसेरा, बागलुङ ।
१. परिचय
ग्रामीण समुदालयले भैरम वा भैरिम भनेर सम्बोधन गरिने भैरब शिवजीका अवतार मानिन्छन् । पुरुष देवता कालभैरबले आम मानिसका भूमि, गोधन, अन्नबाली र परिवारको पनि सुरक्षा गर्छन् । भैरबको मन्दिर पहाड, उपत्यका र तराईका भूभागमा पाइन्छ । उनलाई धर्मशास्त्र अनुसार शिवजीका आठवटा प्रथमादि गणमध्ये एक गण रहेको स्वीकार गरिन्छ । संस्कृत व्याकरणका अनुसार भैरब शब्दको व्युत्पत्ति भने भीरु शब्दमा अण् प्रत्यय लागेर बनेको हो । पौराणिक मान्यता अनुसार भैरबको जन्म शिवजीबाट भएको हो । भैरबलाई धार्मिक बाहेक कोशीय अर्थबाट नियाल्दा भयानक, डरलाग्दो, भीषण र भयावह भन्ने तात्पर्यमा प्रयोग गरिएको पाइन्छ । भैरब शब्दको अर्थ भयानक भए पनि रूपाकृति डरलाग्दो देखिए पनि भक्तजनले उनलाई अत्यन्त दयालु एवं भक्तभीरु स्वभाव भएका देवताका रूपमा सम्मान गर्दछन् ।
भैरबलाई जुनसुकै ठाउँका श्रद्धालु भक्तजनले पूजा आराधना गर्न सक्छन् । त्यसो भए पनि कुनै ठाउँ विशेषको अधिपति वा स्थानीय देवताका रूपमा भक्तजनले उनको आदर गर्दछन् । क्षेत्रपति भैरबका अनेक प्रकारका रूपाकृति झल्किने मूर्तिहरू यत्रतत्र पाइन्छन् । यस्ता अनेक स्वरूप भएका  भैरबहरू काठमाडौँ उपत्यकामा बढी मात्रामा छन् । उपत्यका बाहिरतिर भने पर्वत, कास्की, नुवाकोट, बागलुङ र पाल्पाजस्ता पहाडी इलाकामा कालभैरबका मन्दिरहरू देख्न सकिन्छ । जुनसुकै भूभागमा मन्दिर बनाइएको पाइए तापनि निश्चित सीमामा बाँधिएको भूभागमा उनी शक्तिका प्रतीकका रूपमा पूजित देखिन्छन् । शक्तिका प्रतीक भैरबको रूपाकृतिलाई अनेक तरहका मूर्तिबाट प्रस्ट्याउने प्रयास गरिएको पाइन्छ र नाम पनि सोही अनुसार राखिएको देखिन्छ । यस्ता मूर्तिहरूमध्ये उन्मत्तभैरब, आनन्दभैरब, बाघभैरब, हयग्रीबभैरब, महाभैरब, पञ्चमुखीभैरब, विघ्नान्तकभैरब, सिंहसुखकामभैरब, चण्डभैरब, महाभैरब, कालभैरब, श्वेतभैरब, प्रचण्डभैरब, आकाशभैरब, टीकाभैरब र महाकालभैरब ज्यादा प्रचलित रहेका छन् । अनेक प्रकारका भैरबहरूका कुकुर, मानिस, बँदेल, मृग, परेवा, सुँगा, भैंसी, सारस, हाँस, बाघ, घोडा जस्ता बाहन पनि नाना प्रकारका रहेका छन् । भैरब र तिनका बाहन निर्माण गर्दा काठ, ढुङ्गा, माटो, मैन र धातुहरूको प्रयोग गरिएको देखिन्छ । यसरी एउटै देवताका अनेक प्रकारका स्वरूप र अनेक प्रकारका बाहन रहेको पाइनु नेपाली भैरब संस्कृतिको मौलिक विशेषता हो । 
बलेवामा रहेको कालभैरब मन्दिर कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको पवित्र तीर्थस्थल  हो । भैरबमन्दिर बलेवाबाट सबै भन्दा नजिक रहको कैयाको पुछार कलीगण्डकी नदीतटमा पुग्न कम्तीमा तिन घण्टा मात्र पैदल यात्रा (९.६ किमी) तय गर्नुपर्छ । कालभैरको कालगण्डकी नदीसँग साइनो रहेको पनि पाउन    सकिन्छ । जस्तै तन्त्रचूडामणी नामक ग्रन्थमा भैरबका त्रिपन्न नाम रहेको बताइको (पौडेल, २०६०ः ६१ मा उदृधृत) र तीमध्ये श्रीपर्वत (श्रीनगर) पाल्पामा अवस्थित भैरबको नाम सुन्दरानन्द रहेको बुझिन्छ । त्यस्तै गण्डकी नदीको निकटमा निवास गर्ने भैरबलाई चक्रपाणी भनिने गरिएको भेटिन्छ । चक्रतीर्थ कालीगण्डकीको नजिकमा रहेका भैरबको नाम चक्रपाणी हुनु पनि सार्थक रहेको देखिन्छ । यी दुबै भैरब मन्दिर कालगण्डकी नदीको आसपासमा हुनुले पनि गण्डकी क्षेत्रकै देवालय रहेको कुरालाई द्योतन गर्दछन् । यसरी सरल सोझा किसान वर्गले समेत रक्षक र सहकालका देव भनी आराधना गर्ने कालभैरब सबै भक्तजनका मनेच्छा पूर्णकर्ताका रूपमा चक्रतीर्थमा बिराजमान रहेका छन् । चक्रपाणी कालभैरबलाई सहकाल र शक्तिका प्रतीक मानी पूजा गर्ने प्रचलन रहेको छ ।
२. भौगोलिक अवस्था
बागलुङ जिल्लाको जिल्ला सदरमुकामदेखि करिब बाईस किलोमिटर (मोटरमा जाँदा) दक्षिणमा पर्ने बलेवाली कालभैरब मन्दिर बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरमा अवस्थित छ । स्थानीय भाषामा मन्दिर रहेको ठाउँलाई भैरिमस्थान पनि भनिन्छ । यस ठाउँलाई कसैले काउलेको टाकुरो भन्छन् भने त्यसभन्दा तल रहेको समथर पर्ती जग्गालाई झरुवा पाटा भन्छन् । मन्दिरको दक्षिणतिर कोट (मल्ल राजाका पालाको प्रशासनिक केन्द्र) नाम गरेको ठाउँ पनि छ । मन्दिरको उत्तरतिर पाग्जा कोटकोे डाँडो रहेको छ । यस मन्दिरको वरिपरिको भागले सामुदायिक वनको करिब एघार रोपनी (११.५.२) जग्गा ओगटेको छ (दीपेन्द्रबहादुर थापा) । यही जग्गामध्ये करिब ३० मुरी धान उब्जनी हुने खेत मन्दिरको आम्दानीको स्रोत रहेको छ । यहीँबाट मल्ल राजाले सातसय बलिया (सातसय घरधुरी) को शासन गरिका थिए भन्ने बुझिन्छ । मल्लकालीन समयमा सातसय बलियाको भूभाग भनेको भैरब मन्दिरदेखि पूर्वमा कालीनदी, पश्चिममा रायडाँडाको बेतिनी, उत्तरमा रिठेखोलो र दक्षिणमा टिमुर खोलाभित्रको जमिन हो (रत्नबहादुर के.सी.) । यति सबै सातसय बलियाका शक्तिदाता भैरबनाथ हुन् भने त्यहाँको शासनको केन्द्र मन्दिरको आडैमा अवस्थित कोट हो (सूर्यप्रसाद ढकाल) । कोटघर र भैरब मन्दिर डाँडोको मझधारमा अवस्थित छन् । यी दुबै संरचनाको दायाँबायाँ भिरालो जग्गा रहेको  छ ।
भैरबनाथ मन्दिर समुद्रसतहबाट २२०८ मिटर उच्चाइमा अवस्थित छ । बागलुङ बजारबाट भैरब मन्दिरको पैदल दूरी करिब १६ कि.मि. रहको छ । यति बाटो पूरा गर्नका लागि जम्मा पाँच घण्टा लाग्न सक्छ । त्यस्तै पर्वतको कुस्मा बजारबाट पैदल यात्रा गर्ने हो भने १३ कि.मि. पदमार्ग रहेको छ । यो बाटो भने कम्तीमा चार घण्टामा हिँडेर पार गर्न सकिन्छ । कुस्माकै अर्को बाटोबाट पनि पैदल यात्रा गर्न नसकिने होइन । त्यसका लागि कैयाको झोलुङ्गे पुल तरेपछि कैया, उपल्ला सरङ्गी, गौंडाकोट, रातामाटा, चाम्टार र सतीपखरा हुँदै मन्दिरसम्म पुगिन्छ । कुस्माको यान्त्रिक पुलबाट जाँदा पानीट्याङ्की र पैयुँपाटा हुँदै छोटो बाटोको यात्राबाट पनि सजिलै पुग्न सकिन्छ । त्यस्तै कालीगण्डकी करिडोरमा अवस्थित जैमिनि घाटमा गण्डकी स्नान गरेर यात्रा गर्दा टुनिबोट, गिठेको डाँडो र सतीपखरा हुँदै पुग्न सकिन्छ । मन्दिरमा आउने यात्रीहरू निजी सबारी साधनमा र भाडाका जिभ वा भ्यानमा चढेर बागलुङ सदरमुकामबाट कच्ची मोटरबाटो हुँदै आइपुग्न सक्छन् । रुटमा चल्ने सबारी साधन भने यहाँ त्यति पाइदैनन् । 
कालभैरब मन्दिरमा पुगेपछि त्यहाँबाट भकुण्डे, बागलुङ बजार, पर्वतको कुस्मा, म्याग्दी, दमेक, सर्कुवा, रायडाँडा राङ्खानी, फलेबास र कुस्मिसेराका रमणीय फाँटहरू र सलक्क परेका भिराला पहाडहरू देखिन्छन् । त्यहाँबाट उत्तरतर्फ नियाल्दा मनमोहक अन्नपूर्ण हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । मन्दिरको वरिपरिको वातावरण पनि कम्ती रमणीय छैन । मन्दिरका चारैतिर सल्लिपिरले सजिएको भुइँँतल, मेलापर्वमा गुञ्जिने भजनकीर्तन, स्तोत्रपाठ र भाकलहरूको ध्वनिले मन्दिरको वातावरणलाई मोहक बनाएको देखिन्छ । मन्दिरबाटै पुछारमा हेर्ने हो भने उत्तरतर्फबाट बग्दैआएको कालीगण्डकी नदी नागझैँ लम्पसार परेर सुतेको जस्तो देखिन्छ । यसरी हेर्दा भैरबस्थान मन्दिर उच्च पहाडी भूभागमा रहेको धार्मिक स्थल मात्र नभएर शासनशिक्तको समेत केन्द्र रहेको पाउन सकिन्छ ।
३.सांस्कृतिक तथा धार्मिक महŒव
शारीरिक शुद्धता र अर्चनागत पवित्रता भैरबभक्तका मुख्य विशेषता हुन् । भैरबको अर्चना गर्नका लागि रोठ (चामलको पिठोबाट बनाइने एक प्रकारको बक्लो रोटी) निर्माण गर्नु र त्यसलाई अर्पण गर्नु पहिलो सर्त हो । रोठ बनाउने पनि स्थानीय विधि रहेको छ । सर्वप्रथम एक माना चामल भिजाउनु पर्छ । चामललाई राम्ररी खल, जाँतो वा सिलौटोमा पिध्नु पर्छ । पिधिएको चामको पिठोलाई एकचौथाइ (एक मानाको चार भाग मध्ये एक वा स्थानीय भाषामा एक ढेउवा) घ्यूमा पकाई, नारिवल, छोकडा, ल्वाङ, सुकमेल, इलाइची, चिनी आदि सरजाम राख्नु पर्छ । पाकिसकेको रोठ टुक्रा नहुने गरी   (टुक्रिएमा अशुभ हुने विश्वास छ) भाँडामा राखेर रचना (बेसरको सुठोमा स्वाग र अमिलो राखेर बनाइएको रङ) वा सिन्दूरले सजाउनु पर्छ । साथमा धूप, बत्ती र धजा राखेर कालभैरबलाई भोग लगाउने चलन रहको छ (यदुनाथ आचार्य) । भैरब मन्दिरमा अर्पण गरेर आधा भाग काटिएको रोठलाई परिवारका सबै सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने परिपाटि पाइन्छ । भाकल (बाचा वा प्रतिज्ञा) गरेका वा नगरेका भक्तजनहरूले घ्यूमा पाकेको स्वादिष्ट रोठ चढाउन सक्छन् । यसरी घृतपाक्य चोखो रोठ चढाउनाले कालभैरब प्रसन्न हुन्छन् र मनकामना पूरा हुन्छ भन्ने भक्तजनको विश्वास रहेको छ ।
भैरब मन्दिर नजिकै रहेको कोटमा हरेक वर्ष नवरात्रमा तरबार नाच देखाइन्छ । यहाँ क्षत्री र ठकुरीका युवाहरू जम्मा भएर युद्धकला सम्बन्धित तरबार नाच देखाएर मौलिक संस्कृतिको संरक्षण गर्दै आएका छन् । त्यस्तै चारगाउँलेहरूले आ–आफ्नो क्षेत्रको प्रतिनिधित्व हुने गरी कोटघरको अगाडिपट्टि चौरमा मौलो (काठको थाम) गाडेका हुन्छन् । त्यसरी काठको मौलो बनाउँदा तिनवटा हाँगा फाटेको सालको काठमध्येको एउटा हाँगोको चुरो काठ प्रयोग गरिन्छ । त्यसलाई मौलाको रूपमा गाड्नुपूर्व पनि धार्मिक विधि गर्नुपर्छ । ठाडो परेर गाडिएको मौलोलाई आकाशबाट चट्याङ् (बज्र) ले हानी बारम्बार नष्ट गरेपछि मौलोलाई जमिनमुनि सुताएर गाड्ने गरिएको बताइन्छ (रत्नबहादुर के.सी.) । त्यही सुताएर राखिएको मौलोमा बाबियोको रसी बाँधी बलीदिने चौपाया (राँगो वा बोको) लाई बाँधेर बलीपूजा गरिन्छ । यसरी बली दिने चौपायालाई धार्मिक विधिअनुसार पूजा गरी कोटागार र भैरब मन्दिरमा मार हानिन्छ । पुजित पशुको बध गर्नु पूर्व पञ्चेबाजा बजाएर नगरा (बाजाको एक किसिमको ताल) लगाउने चलन पनि छ (सूर्यप्रसाद ढकाल) । बली दिइएका पशुका शिर मन्दिरमै अर्पण गर्न प्रचलन रहेको छ । शिवांश भए पनि भैरब तमोगुणी देवता भएको हुनाले उनलाई बली दिने गरिएको बुझिन्छ । हरेक वर्ष नवरात्रमा यही पवित्र कोटमा जम्मा भएका ज्योतिषी, पण्डित विद्वान् र हकाधिकारीहरूले पुली लिने, न्वागी खाने, दशैँ र तिहारको टीकाको साइत हेर्ने गर्दछन् । हरेक शुभअवसरमा कोटमा तोप पड्किएपछि कार्यारम्भको साइत भयो भन्ने बुझ्ने गरेको आम सर्वसाधारणको विश्वास रहेको छ । यस अधारमा भैरब मन्दिरका मौलिक सांस्कृतिक विशेषता भनेका तरबार नाच देखाउनु, रोठ चढाउनु र चाडपर्वको साइतका बरेमा निधो गर्नु हुन् ।
भैरब मन्दिरका अरू पनि केही मसिना संस्कृति रहेका छन् । यहाँ मन्दिरमा पूजा गर्न ल्याएका माला र धजाहरू फिर्ता लैजाने चलन छैन । भक्तजनले भैरबको गुप्त स्वरूप हेर्न नहुने विश्वास छ (मन्दिरको चौकोमुनि भैरबज्वाला छ भन्ने विश्वास गरिन्छ) । हेरिएका खण्डमा अनिष्ट हुने धारणा व्यापक रूपमै  पाइन्छ । त्यस्तै परेवा, कुखुरा, बोको, हाँस र राँगो जस्ता चौपायाको बली दिइन्छ । मल्ल र शाही ठकुरीले मात्र मन्दिरको नित्य पूजा गर्छन् । प्रतिवर्ष दशैँमा तत्कालीन शासकीय व्यवस्था अनुसार हरेक गाउँविकास समिति (सत सय कुरिया) बाट चन्दा उठाएर रकम सङ्कलन गरी भैरब पूजाका लागि पञ्चल (बली दिने राँगो, बोको, कुखुरा, परेवा र हाँसको सामूहिक नाम वा पञ्चबली) लिएर बाजागाजा सहित भेटी चढाउन जाने प्रचलन छ । यसरी कालभैरबलाई सात्विक, राजसी र तामसी तिनै तरिकाले आराधना गर्न सकिन्छ । मन्दिरभित्र भने सर्वसाधारणलाई प्रवेश गर्न भने   दिइदैँन । 
कालभैरब मन्दिर धार्मिक आस्थाको केन्द्र हो । यस मन्दिरमा आउने सनातन धर्मावलम्बीहरूले बटुकभैरबस्तोत्र (संस्कृत भाषामा लेखिएको भैरबगुणगान भएको पुस्तक) दुर्गा सप्तसती (दुर्गा देवीको गुणगान भएको पुस्तक) र महाकाल शनि मृत्युञ्जय (शिवजीले पार्वतीलाई उपदेश दिएको मृत्यु जित्ने ज्ञान) पाठ गर्दछन् । कालभैरबलाई खुसी पार्नका लागि सत्तलमा बसेर भजन कीर्तन गर्नेको पनि कमी  पाइदैैन । यसरी शिवावतार भैरबले समस्त भक्तजनको कल्याण गर्ने, निर्धनलाई धन, रोगीलाई आरोग्य, निसन्तानलाई सन्तान, बेरोजगारलाई रोजगार र अनिकालमा सहकाल दिने गरेका छन् भनी भक्तहरू भाकल लिएर आउने गर्दछन् (टेकबहादुर शाही) । उल्लिखित सत्यले उक्त मन्दिर सनातन धर्म मान्ने आम जनसमुदायको आस्थाको धरोहर रहेको  देखाउँछ । यसरी शिवको अवतार मानी भैरबको आराधना गर्नु कालभैरब मन्दिरको धार्मिक पक्ष हो भने मन्दिरमा प्रचलित चलनहरू सांस्कृतिक पक्ष हुन् । यिनै मौलिक पक्षले भैरब मन्दिरलाई विशेष महŒवपूर्ण बनाएका छन् ।
४. पर्यटकीय विशेषता, सम्भावना र भावी कार्ययोजना
भैरबस्थान मन्दिरको पहिलो पर्यटकीय विशेषता भनेको धार्मिक यात्रा हो । अघिल्ला शीर्षकमा चर्चा गरिका धार्मिक र सांस्कृतिक पक्ष यस ठाउँका थप पर्यटकीय आकर्षण हुन् । त्यसबाहेक यहाँ पर्याप्त मात्रामा पर्यटकीय क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । वनभोज गर्ने उचित ठाउँ यस मन्दिरको आसपासमा रहेको छ । हिमाली सौन्दर्यको दृश्यावलोकनका यहीँबाट हुन सक्छ । कालीनदीको किनारबाट पदयात्रा गरी मन्दिरसम्म पुग्ने उकालो बाटो छ । मन्दिरको ऐतिहासिक महत्ताका बारेमा अध्ययनका लागि अनुसन्धानकर्ताहरू आकर्षित छन् । चैत्राष्टमी र विजया दशमीमा रमाइलो मेला भर्न देश विदेशबाट आउने यात्रीहरूको लर्को देखिन्छ । यहाँ मल्ल राजाका पालामा पाग्जाकोटको डाँडो छेडेर बनाएको दुर्ग रहेको छ । तिनले छोडेको तिब्बती तोपको ठुँडोले पनि चित्ताकर्षण गर्न सक्छ । मल्ल राजाले शासन गरेको कोटमा रहेका पुराताŒिवक सामग्रीको अवलोकन गर्न सकिन्छ । मल्ल राजाले खाद्य सामग्री पिध्नका लागि बनाएका ढुङ्गाका ओखल मन्दिरको नजिकै छन् । तत्कालीन दरबारका अवशेषहरू पनि यत्रतत्र भेट्न्छिन् । रायडाँडामा तामा, फलाम र सिसा जस्ता भौगर्भिक खनिज पदार्थहरूको स्रोत रहेको बताइन्छ (दीपेन्द्रबहादुर थापा) । सतीपखराको जङ्गलमा अनौठो पानीको कुवा रहेको छ । यो हिउँद होस् या वर्षा कहिल्यै पनि सुक्दैन । उपल्ला खौरमा रहेको भैरबको फूलबारीको मोहकता छुट्टै    छ । अमलाचौरको अम्बा, भकुण्डेको आलु, रायडाँडाको अम्रिसो, भाङ, डोका, डाला, नाङ्ला र दारको काठ एवं गुराँसबाट बनाएका ठेकी पर्यटकका अकर्षणका वस्तु हुन् । त्यतिमात्र नभएर कालीनदीमा स्नान गरी त्यहाँको जल लिएर भैरब मूर्तिमा अभिशेष गर्दा पुण्य हुने विश्वास पनि छ । यसरी हरेक महाशिवरात्रीका दिनमा र श्रावण महिनाको सोमबारका दिनमा जैमिनि घाटमा अवस्थित काली नदीमा स्नान गरी जलपूर्ण ताम्रकलश (बोलवम यात्रा वा कुम्भ मेला पनि भन्न सकिने) बोकेर भैरब मन्दिर पुग्न सकिन्छ । यसले पर्यटक र तीर्थयात्रीलाई थप आकर्षण थप्न मद्दत गर्दछ । यस अनुसार जैमिनि घाटदेखि टुनिबोट, अमालाचौर र सतीपखरा हुदै भैरबस्थानसम्म पदमार्गको सम्भावना बढेर जान्छ अनि त्यहाँका स्थानीयवासी लाभान्वित हुन्छन् । यसरी धार्मिक आस्थालाई पर्यटकीय विशेषतसँग जोडियो भने धर्मको रक्षाका साथै आम्दानीको स्रोत समेत बढेर जाने देखिन्छ । 
भैरबस्थान मन्दिर उच्च पहाडी भूभागमा अवस्थित रहेको छ । यस हिसाबमा यहाँ पर्यटकीय सम्भावनाहरू प्रचूर मात्रामा रहेका छन् । यहाँ पाल्पाको भैरबस्थान मन्दिरका तुलानमा अति कम भौतिक पूर्वाधार निर्माण भएका छन् । पर्यटकीय क्रियाकलापहरू त शून्यप्राय नै छन् । त्यसो भए पनि आगामी दिनमा गरुयोजना बनाएर भौतिक पूर्वाधारको विकास गर्न लागिएको छ (दीपेन्द्रबहादु थापा) । भावी योजनामा पार्किङलाई सर्वप्रथम व्यवस्थित गरिने छ । त्यसपछि आवसहरू निर्माण गरिने छ । पुरातŒव विभागको स्वीकृतिमा मन्दिरको पुनर्निर्माण हुने छ । मन्दिर वरिपरिको जग्गा फराकिलो पारिने छ । पाग्जा कोटमा रहेको दूरदर्शन कक्षलाई व्यवस्थित बनाइने छ । पार्किङ्कै नजिकमा पूजासामग्री पसल सञ्चालन हुने छ । वातावरणलाई हराभरा बनाउन आकर्षक उद्यान निर्माण गरिने कुरा योजनामा समावेश गरिएको छ (दीपेन्द्रबहादुर थापा) । यस्ता किसिका योजना कार्यान्वयन गरिएका खण्डमा मन्दिर क्षेत्रलाई पुनर्जीवन दिन सकिन्छ । यसका लागि कार्यसमित चनाखो भएर लाग्नु पर्ने हुन्छ । 
भैरबस्थान मन्दिरको आसपासको स्थानीय संस्कृति नै पर्यटक आकर्षण गर्ने मूल मेरुदण्ड हो । जसरी तराईका थारु जातीमा डण्डिया नाच प्रख्यात छ त्यसरी ठकुरीहरूको तरबार नाचलाई अझै व्यवस्थित तुल्याउनु पर्छ । युवावर्गलाई त्यसतर्फ बढीभन्दा बढी आकर्षित गर्नुपर्छ । यसो गर्न सकियो भने यहाँ आउने पर्यटकलाई मुग्ध बनाउन सकिन्छ । त्यसबाहेक ज्यादै बढी धनरासी खर्च हुने परियोजना पनि मन्दिरको आसपासमा सञ्चालन गर्नुपर्ने हुन्छ । जस्तै मौरीभिरमा रक क्लाइम्बिङको सम्भावना हुन सक्छ । गहुँदीदेखि कुस्मिसेरासम्म जिपफ्लाइङको योजना तर्जुमा गर्न सकिन्छ । कुस्मादेखि बलेवासम्म केबुलकारको निर्माण गरेर यात्रीलाई सुुविधा दिनुपर्छ । एकदुई रात बिताउन सकिने होटलको निर्माण हुन नसकेका खण्डमा त्यतातिर पनि ध्यान दिन अत्यावश्यक छ । भजन कीर्तन गर्ने र सभा सम्मेलन गर्ने सभाहल निर्माण गर्नुपर्छ । प्याराग्लाइडिङ जस्ता साहसिक खेलको विकास गर्दै जाँदा यस ठाउँलाई देशकै पर्यटनको केन्द्र बनाउन सकिन्छ । यस्ता प्रचूर सम्भावना रहेको भैरब मन्दिर धर्म र पर्यटनको आकर्षक केन्द्र बनाउनु उपयुक्त हुन्छ ।
५. मन्दिरको वर्तमान अवस्था र पूजाआजाको व्यवस्था
नेपाली धार्मिक वास्तुकलाकको एक भेद सत्तल शैलीबाट निर्मित कालभैरब मन्दिर तलैतला मिलेर बनेकोे छ । तले वा छाने शैली पनि भन्न सकिने मन्दिरको छानो सबैभन्दा तल फराकिलो छ भने त्यसमाथिको भाग साँघुरो छ । छानाको माथिल्लो भागमा गजुर रहेको छ भने त्यसैकै आडमा रहेको त्रिशुलले मन्दिर शोभायमान देखिएको छ । वि.सं. १९९० सालपूर्व यस मन्दिरमा खरको छानो रहेको थियो । मन्दिरको गाह्रो पनि माटो र ढुङ्गाबाट बनेको थियो । यसरी साधारण तरिकाले निर्मित मन्दिर चुच्चेढुङ्गामाथि स्थापित छ । १९९० सालमै खड्गबहादुर पाठकले निजी खर्चमा ३२ धार्नी      (करिब असी किलो) तामाको प्रयोग गरी तामेछानो बनाइदिएका हुन् (टेकबहादुर शाही) । छानाको भित्री भागलाई अडाउनका लागि काठका निदाल राखिएका   छन् । मन्दिरको आयतन चतुर्भुजाकारको छ । आकर्षक तरिकाले काठमा कुँदिएको एउटा ढोका छ भने छवटा आँखी झ्याल छन् । छानोको सबैभन्दा तल कलात्मक बुट्टादार पट्टी राखिएको छ । पट्टीमुनि भने आधुनिक तरिकाले निर्माण गरिएको ढलानको पाली राखिएको छ र त्यसलाई अडाउन पिल्लर गाडिएका छन् । मन्दिरको वरिपरि झुन्ड्याइएका घण्टीका मधुर आवाजले सङ्गीतमय वातावरण रचना गरेको पाउन सकिन्छ । छानाको चारैवटा कुनामा चरा आकारका सुन्दर आकृति राखिएका छन् । छानो अडाउनका लागि निर्माण गरिएका आकर्षक टुँडालहरू मन्दिरका वरिपरि छन् । मन्दिरलाई अवस्था हेरी सेतो वा गेरु रङ्ले रङ्गाएर राखिएको  हुन्छ । मन्दिरको वरिपरि ढुुुङ्गाको पर्खाल छ । पर्खाल भन्दा पर रानी ढुङ्गो छ । मन्दरको प्रदक्षिणा गर्ने प्राङ्गण भने माटाकै रहेको छ । मन्दिरको द्वार अगाडि भजन कीर्तन गर्न मिल्ने सत्तल छ । मन्दिरको अग्रभागमा प्रवेशद्वार छ भने त्यसभन्दा अगाडि खुला मैदान रहेको छ । यसको नजिकै अगाडि बलेवा कोट रहेको छ । कोटबाट तलतिरका फाँटहरू सजिलै नियाल्न सकिन्छ । मन्दिरमा देखिएका यस्ता धार्मिक वास्तुकलाका अवयवले मन्दिरलाई अति मोहक बनाएका छन् । 
मन्दिरमा रहेको हालको मूर्ति कृष्ण वर्णको छ । पत्थरबाट निर्मित उक्त मूर्ति अमलाचौरका चित्रलाल विश्वकर्मा र चन्द्रप्रसाद आचार्यले वि.सं. २०७०÷०१÷१७ गतेका दिनमा निजी खर्चमा स्थापना गरिएका हुन् (टेकबहादुर शाही) । उक्त मूर्तिमा रहेका भैरब कुकुरमा सबार रहेका छन् । कुकुरको मुख भैरबको दाहिने खुट्टातिर फर्किएको छ । चारवटा हातमा अनेक प्रकारका आयुध रहेका छन् भने भैरबको मूर्ति नाङ्गो देखाइएको छ । चारवटा हातमध्ये दाहिने हातमा डम्मरु, त्रिशुल छ भने देब्रे हातमा भिक्षापात्रको आकृति र गदाह रहेको छ । देब्रेहातमुनि नागको प्रतिमा कुदिएको छ । रुद्राक्षको मालाले सजाइएको मूर्तिको आडमा कालीमाता दुर्गाको प्रतिमा पनि छ । कालभैरबको मूर्तिको ठिक समुन्नेमा ठूलाठूला डरलाग्दा खड्गहरू राखिएका छन् । मन्दिरमा राखिएका धजापताका र प्रशस्त त्रिशूलको थुप्रोले वातावरणमा जीवनतता थपेका छन् । यसरी कालभैरब मन्दिर धार्मिक वास्तुकला र मूर्तिकलाको राम्रो नमुना बनेको देखिन्छ । 
कालभैरबको नित्य पूजा स्थानीय विधिको नै बढी उपयोग गरिन्छ । मन्दिर खोलेपछि चामल भिजाएर मूर्तिहरूको स्नान गराइन्छ । त्यसपछि पिठो पिनेर रोठ पकाउन आगोमा बसालिन्छ । दियो, कलश, गणेशको पूजा गरेपछि शङ्ख र घण्ट पूजा गरिन्छ अनि मात्र भैरबको पूजा गरेर आरति गरिन्छ र रोठको भोग लगाइन्छ । अन्त्यमा बटुकभैरबस्तोत्र पाठ गरेर नित्य पूजा समाप्त गरिन्छ (टेकबहादुर शाही) । त्यसपछि मात्र सर्वसाधराणलाई पूजा गर्न अनुमति दिइन्छ । यसरी आराधना गर्दा वैदिक विधि नभई तान्त्रिक विधिबाट भैरबलाई प्रसन्न पारिन्छ । यस तरिकाले हप्तामा दुईदिन (मंगलबार र शनिबार¬) मन्दिरमा पूजा हुन्छ । यसरी ठकुरी पुजारीले मन्दिरको सेवा गर्नुलाई पुख्र्यौली कर्म र कर्तव्य ठान्दछन् (टेकबहादुर शाही) । पुर्खाको विरासतलाई थामेका ठकुरी पूजारीमा सेवा र धर्मकोे भावना बढी रहेको देखिन्छ । यसरी धर्म र आस्तिकताका जगमा कालभैरब मन्दिरको अस्तित्व सुरक्षित रहेको  देखिन्छ । 
६. ऐतिहासिकता
मल्लकालीन सातसय बलेवा क्षेत्र शक्तिशाली चौबिसी राज्यभित्र पर्ने पर्वत राज्य अन्तर्गत शासित थियो । पर्वत राज्यको स्थापना वि.सं. १४९३ मा भएको थियो भने यसको पतन वि.सं. १८४२ को अन्त्यतिर भएको  थियो । पर्वत राज्यका अन्तिम वा चौधौँ राजा कीर्तिवम मल्ल हुन् । उनी वि.सं. १८१९ मा पर्वत राज्यको राजा भएका    थिए । उनकै पालामा करिब चारसय वर्ष पुरानो पर्वत राज्य ध्वस्त भएको थियो । उनको राज्यलाई तत्कालीन गोर्खाली राज्यमा गाभ्ने काम पृथ्वीनारायण शाहका माहिला छोरा बहादुर शाहले गरेका थिए । बहादुर शाहले पर्वतमा पजनी गरेपछि कीर्तिवम मल्ल भागेर भारतको काशीमा गई शरण लिए र त्यसको अर्को साल उनको देहान्त भयो (कँडेल, २०५५ ः ५०) । उनले आफ्नो शासन कालमा सात सय बलेवालाई पर्वतबाट शासन गर्न टाढा हुने देखी बलेवाको पाग्जाको डाँडोमा कोटको स्थापना गरेका थिए । त्यसरी स्थापना गरिएको बलेवाको पाक्जाकोटमा मगरहरूले बारम्बार हमला गरिरहन्थे । पर्वतका राजाले मगरराज्यसँग युद्ध गरी बलेवालाई आफ्नो अधीनमा पारेका थिए । त्यसकारण मल्लराज्य बनाएका कीर्तिवमको इलाकामा मगरहरूले बारम्बर आक्रमण गर्दर्थे (रत्नबहादुर के.सी.ले दिएको हस्तलिखित सामग्रीमा आधारित) । यसको अर्थ पाग्जा कोटमा मल्लहरूले राज्य गर्नुपूर्व पनि प्रशासनिक अस्तित्व थियो भन्ने देखिन्छ । मगर राज्यलाई मल्लहरूले सजिलै पराजित गरी अधीनमा लिएको जानकारहरूको ठम्याइ रहेको छ । यसरी आक्रमण गर्दै जाँदा उनीहरूले एक दिन कोटघर (प्रशासनिक कार्यालय) मा समेत आगजनी गरे । यसरी कोटघर ध्वस्त भएको खबर राजा कीर्तिवमले पाएपछि पं. बलीभद्र पौड्याललाई आफ्नो प्रतिनिधि राजखड्ग दिई प्रमुख क्षेत्रपाल (प्रशासक) बनाएर पठाए । उनकै साथमा उनका कान्छा छोरा पं. माधव पौड्याललाई सहायक क्षेत्रपाल बनाएर खटाए । पं. बलीभद्र पाग्जाकोटमा आएपछि त्यहाँ पानीको चरम अभाव रहेको महसुस गरे । रणनीतिक हिसाबले पनि ठाउँ असुरक्षित र असुविधाजनक रहको अनुभव गरे । यसकारण पाग्जाकोटबाट कोटलाई स्थानान्तरण गर्ने मनस्थिति बनाए । त्यसैको फलस्वरूप कोटगार (शस्त्रागार) मा बचेखुचेका शस्त्रास्त्र लिई दक्षिणतर्फको काउले डाँडामा कोटप्रशासनको स्थापना गरे । काउलेमा प्रशासन सारेपछि बलीभद्रले प्रशासनका लागि आवश्यक पर्ने भवन, सुरक्षाकर्मी र हातहतियार समेतको प्रबन्ध मिलाए । यतिका काम भएपछि पनि उनलाई अझै कोट असुरक्षित रहेको अनुभव भइ रह्यो । त्यसपछि उनले शक्ति र सिद्धिका लागि पर्वते मल्ल ठकुरी राजाका इष्ट देवता कालभैरबको मन्दिर स्थापना गर्ने निधो गरे । 
बलीभद्रले राजाको समेत सल्लाह लिएर काउलेको डाँडोमा कोटघरको उत्तरतर्फ हाल मन्दिर रहेकै ठाउँमा कालभैरबको स्थापना गरे । त्यसरी मन्दिरको स्थापना गरेपछि एकमुरी चामको पिठोमा खुदो (पकाएको ऊखुको रस) घ्यू र सख्खर राखी रोठ निर्माण गरेर अर्पण गरे । रोठ चढाउने चलनको आरम्भ पनि उनैले गरे । उनले नित्यनैमित्तिक पूजाआजाको खर्च जुटाउनका लागि सिमको खेत (अमलाचौर), सेराको खेत (कुस्मिसेरा) र उपल्लाखौर (कुस्मिसेरा) फूलबारीको जग्गालाई गुठी राखे (वर्तमान समयमा सिमखेत मात्र भैरबको नाममा रहेको¬¬ र अन्य जमिन मन्दिरका नाममा नरहेको) । मन्दिरमा नित्य पूजाआजा गर्नका लागि मल्ल ठकुरीलाई नियुक्त गरे । यसरी धार्मिक र प्रशासनिक तबरबाट बलेवालाई शक्तिशाली बनाएपछि आफ्ना छोरा माधवलाई क्षेत्रपाल बनाई बलीभद्र गुरु पर्वततिर फर्किए ¬(रत्नबहादुर के.सी. दिएको हस्तलिखित सामग्रीमा आधारित) । यिनै बलीभद्रलाई बले बा, बले बा भनेर सम्बोधन गर्दै जाँदा अपभ्रंस भई बलेवा÷बलीया नाम रहन गएको हो भन्ने पनि जानकारहरूको ठनाइ रहेको छ । उनै बलीभद्र र माधवका सन्तानहरू नारायणस्थान, गार्लुङ र कुस्मिसेराको कुशिगाउँमा बसोबास गर्छन् र तिनीहरूमध्ये कुनै एक परिवारसँग कीर्तिवम मल्लले राजगुरु बलीभद्रलाई दिएको तरबार अझै सुरक्षित रहेको छ भन्ने बुझिन्छ । यसरी पर्वत राज्यभित्र पर्ने बलेवा कालभैरब मन्दिरको स्थापना गर्ने प्रमुख योजनाकार कीर्तिवम मल्ल हुन् । उनी शत्रुराज्यबाट पर्वतलाई जोगाउनमा नै बढी तल्लीन हुनु परेको हुनाले अरू काम गर्न धेरै फुर्सद थिएन । बेफुर्सदीका अवस्थाबाट पनि उनले भीमसेनको मन्दिर र कालभैरबको मन्दिर स्थापना गर्ने योजना बनाएको बुझिन्छ । उनलाई बहादुर शाहले गोर्खाली राज्यमा गाभेको समय वि.सं. १८४२ भएको हुनाले बलेवाको काल भैरब मन्दिर पनि यही समयको रहेको कुरा ऐतिहासिक तथ्यबाट देखिन आएको छ । कीर्तिवम मल्लको पतनलाई मानक मानेर व्यतीत वर्ष निक्र्योल गर्नुपर्दा जम्मा २३२ वर्ष पुरानो मन्दिर रहेको तथ्य खुल्न आउँछ । उनको राज्याभिषेक पनि वि.सं. १८१९ मा भएको र नेपाल एकीकरणको ज्वाला पनि १८३१ पछि अझै व्यापक मात्रामा दन्किएको देखिएका कारण यसपछिको समयमा शत्रुबाट सुरक्षित हुन भैरब मन्दिरको निर्माण गरिएको हो भन्ने तर्क बढी ओजपूर्ण देखिन्छ । भैरब मन्दिरको अवस्था यस्तो रहे पनि कोट प्रशासनको अस्तित्व त्यसभन्दा पहिल्यै थियौ भन्ने बुझिन्छ ।
७. पौराणिक सन्दर्भ
कालभैरब शिवजीका अंश हुुन् । उनको बस्त्रालङ्कार र स्वरूप भयङ्कर देखिन्छ । उनलाई तामसी (मद्य, मांस, मारण, मोहन, उच्चाटन) तरिकाले आराधना गरिन्छ । उनको उत्पत्ति र गरगहनाका बारेमा पुराणमा चर्चा गरिएको पाइन्छ । शिवपुराणका अनुसार कार्तिक महिनाको कृष्ण पक्षको अष्टमी तिथिको मध्यान्हमा भैरबको जन्म शिवजीको शरीरबाट भएकोे हो । यसकारण कार्तिक कृष्णाष्टमीलाई भैरबाष्टमी पनि भनिन्छ । शिवपुराणको शतरुद्रसंहिता अन्तर्गतको पार्वती खण्डमा शिवजी कुपित भएर भैरबलाई जन्म दिएको कथा उल्लेख गरिएको छ (शतरुद्रसंहिता, ८) । पुराणअनुसार एकदिन ब्रह्मा र विष्णुका बीचमा कुनचाहिँ देवता महान् भन्ने विषयमा झगडा परेपछि त्यसको छिनोफानो गर्न दुबै देवता शिवजीकहाँ जान्छन् । त्यहाँ पुगेपछि शिवजीको प्रार्थना गर्नेक्रममा ब्रह्माले अहम्तापूर्वक शिवको अवहेलना गर्छन् । त्यपछि कुपित भएका शिवले कालभैरबलाई जन्म दिन्छन् । कालभैरबलाई दुईमध्ये कुन देवता ठूलो हो भनेर छिनोफानो गर्ने जिम्मा दिइन्छ । त्यसपछि कालभैरबले ब्रह्मालाई शिवजीको शीर्षलोक र विष्णुलाई पादतल पत्ता लागाएर आउने काम दिन्छन् । यस्तो काममा जो पहिला उद्देश्य पूरा गरी फर्किन्छ त्यो नै ठूलो हुन्छ भनी घोषणा गर्छन् । त्यसपछि विष्णु र ब्रह्मा आआफ्नो काममा लागि हाल्छन् । पातालमा पुगेका विष्णुले यो काम असम्भव छ भन्ने पत्तो पाउँछन् र फर्केर कालभैरबसँग माफी माग्छन् । ब्रह्माले भने गायत्री र सरस्वतीलाई झुट बोल्न लगाएर आफूले शिवजीको शीर्षलोक स्पर्श गरेको प्रमाण पेस  गर्दछन् । त्यसपछि कुपित भएका भैरबले ब्रह्माको शिरच्छेदन गरिदिन्छन् । शिवको अनुमतिबिना कालभैरबले यस्तो काम गरेपछि प्रायश्चित्त गराउनका लागि उनलाई संसारका तीर्थहरूको भ्रमण गराउँछन् । काशीमा आएपछि कालभैरबको हातमा रहेको ब्रह्मशिर भुईँमा झर्छ । कालभैरब पनि ब्रह्महत्याबाट मुक्त हुन्छन् । त्यसपछि शिवजीले भैरबलाई काशी क्षेत्रको क्षेत्रपाल बनाइदिन्छन् । सोही समयबाट भैरबलाई स्थानीय देवताका रूपमा पूजा गरिँदै आएको पाइन्छ । पुराणको यस्तो कथाले भैरबलाई शिवजीका अवतार हुन् भन्ने देखाएको छ । शिवपुराणमा उल्लिखित भैरबको जन्म र रूपाकृति संस्कृत पद्यमा यसरी उदाहृत गर्न सकिन्छः
सकोपतस्समुत्पाद्य पुरुषं भैरबम् क्वचित् ।
प्रज्वलन्तं सुमहसा प्रीत्या च परमेश्वरम् ।।
शिवपुराण, शतरुद्रसंहिता ८÷४५
(महादेवजी एकदमै रिसाएपछि जाज्वल्यमान कालभैरबलाई उत्पन्न गरे र ती कालभैरबले महादेवजीलाई खुसी पारे ।)
विश्वंभत्र्तुं समर्थोसि भीषणाèैरबः स्मृत ।
त्वत्तो भेष्यति कालोऽपि ततस्त्वं कालभैरब ।।
शिवपुराण, शतरुद्रसंहिता ८÷४६
(भैरबलाई उत्पन्न गरेपछि महादेवले भने, हे भैरब ! तिमी समस्त विश्वको भरणपोषण गर्न समर्थ छौ, डरलाग्दो स्वरूप भएको हुनाले तिमी भैरब हौ, तिमीदेखि काल पनि डराएर भाग्नेछ, त्यसकारण तिम्रो नाम कलभैरब सार्थक रहन गएको छ ।)
अथायान्तं महाकालं त्रिनेत्रं सर्पकुण्डलम् ।
महादेवांशसम्भूतं पूर्णाकारम् च भैरबम् ।।
शिवपुराण, शतरुद्रसंहिता ९÷६
(यसरी त्रिनेत्रधारी, सर्पको गहना लगाएका, पूर्णब्रह्म स्वरूप महादेवका अंशभूत महाकाल भैरबलाई आइराखेका अवस्थामा देखियो ।)
अनेकजन्मनियुतैर्यत्कृतं जन्तुभिस्त्वघम् । 
तत्सर्व विलयं यान्ति कालभैरब दर्शनात् ।।
शिवपुराण, शतरुद्रसंहिता ९÷६६
(हरेक मानवले अनेक जन्मजन्मान्तरमा आर्जित खराब कर्महरू कालभैरबको दर्शन मात्रबाट नष्ट हुन्छन् ।)
भैरब कालका पनि काल, देवताका पनि देवता र ब्रह्माका पनि ब्रह्मा हुन् । भैरबको रूपाकृति जति अघोर, भयङ्कर र डरलाग्दो छ त्यति नै उनी दयालु छन् । तिनवटा आँखा, सर्पको आभूषण र हातमा भिक्षापात्र लिएका कालभैरब महादेवका अंशबाट उत्पन्न भएका हुन् । उनी शत्रुहरूलाई परास्त गर्नका लागि शक्तिदिन पनि सक्षम रहेका छन् । यसकारण शत्रुसाध्न र बसीकरण गर्नका लागि अलौकिक शक्तिमाथि पनि विश्वास गर्ने मल्ल राजाहरूले भैरबको मन्दिर स्थापना गरेको ऐतिहासिक तथ्यले देखाएको छ । 
८. सुझाव
बुद्धिमान् मानिसले कम मूल्यको वस्तुलाई पनि बहुमोलमा बजारमा बिकाउँछ भने अल्ममती भएकाले हिरामोतीलाई पनि कौडीका भाउमा मिल्काउँछ । बलेवा कालभैरब मन्दिर पनि त्यस्तै अवस्थाबाट गुज्रिरहेको छ । कालभैरब देवताको सिद्धि र शक्तिअनुसार राम्ररी प्रचारप्रशार हुन सकेको छैन । त्यसकारण सर्वप्रथम यस मन्दिरको प्रचार प्रशार र भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने हुन्छ । त्यसपछि सहज तरिकाले बाह्रै महिना सबारी साधन आवागमन होओस् भन्ने हेतुले बागलुङ नगरपालिकाले पक्की बाटो निर्माण गरिदिनु पर्छ । भौतिक पूर्वाधार विकास गर्नका लागि उचित मात्रामा बजेट छुट्याउनु पर्छ । गुठीसंस्थानले मन्दिरको आयस्रोत मात्र बुझ्ने र भौतिक विकासमा खासै चासो नदिने परिपाटि तुरुन्त बन्द गर्नुपर्छ । मन्दिरबाट हुने आम्दानीलाई त्यहीँको विकासमा लगाउनु पर्छ । बृहत्तर रूपमा विकास गर्ने सोचका साथ व्यावसायिक दृष्टिकोणको विकास गर्नुपर्छ । स्वार्थी प्रवृत्ति त्यागी गुरुयोजना अनुसार काम नगर्ने पद्धति बन्द गर्नुपर्छ । वर्षेनी लाखौँ रुपियाँ आम्दानी हुने मन्दिरको वरिपरिको वातावरण ढुङ्गेयुगको जस्तो रहेको छ । जसलाई तुरुन्तै सुधार गर्न आवश्यक छ । खानेपानीको चरम अभावलाई न्यूनीकरण गर्नु, होटल, रेष्टुराँ, घरबास कार्यक्रम र पूजासामग्री पसलको व्यवस्थापन गर्नु वर्तमान कार्यसमितिले गर्नुपर्ने कर्तव्य हुन् । यस्ता न्यूनतम आवश्यकता पूरा गर्न त्यहाँका बुद्धिजीवी, स्थानीय समाजसेवी, संस्कृतिकर्मी र स्थानीय जनता नै बढी जागरुक हुन आवश्यक छ । पूजारीलाई पनि उचित तरिकाले मासिक वृत्ति दिइनु पर्छ । बलीभद्रका सन्तानसँग सुरक्षित रहेको भनिएको तरबार मन्दिरलाई फिर्ता दिनुपर्छ र मन्दिरको समितिले त्यसलाई सुरक्षित राख्नुपर्छ । समुदायिक वनभित्र रहेको मन्दिरलाई अब आफ्नै नाममा जग्गा नामसरी गरी व्यवस्थित गर्नुपर्छ । पुरातात्विक महŒव रहेको यस मन्दिरकोको पूर्वाधार निर्माण गर्दा पुरातŒव विभागबाट स्वीकृति लिई सोही अनुरूपका कार्य गर्नुपर्छ । यस्ता काम गर्न सकिएका खण्डमा कालभैरब मन्दिर बलेवाले आगन्तुक भक्त र पर्यटकको मन जित्न सक्ने छ ।
९. निष्कर्ष
बागलुङ जिल्ला सदरमुकामबाट करिब बाईस किलोमिटर दूरीमा रहेको बलेवा कालभैरब मन्दिर समुद्र सतहबाट २२०८ मिटर उच्चाइमा रहेका छ । विजया दशमी र चैत्राष्टमीमा विशेष मेला लाग्ने यो मन्दिर हरेक हप्ता मंगलबार र शनिबार खुला रहन्छ । हालसम्म प्राप्त तथ्यले यस मन्दिरको इतिहास २३२ वर्ष पुरानो रहेको देखाएको छ । सत्तलशैलीमा निर्माण गरिएको भैरब मन्दिरको छानो १९९० सालमा तामाको बनाइएको हो । मूर्तिको स्थापना भने २०७० सालमा आएर भएको हो । पौराणिक कथन अनुसार शिवजीका अवतार मानिने कालभैरब सनातन धर्मावलम्बीका आस्थाका धरोहर हुन् । भयङ्कर रूपाकृति हुने कालभैरब दयालु स्वभावका पनि छन् । उनी सर्वसाधरण जनताका रक्षक र स्थानीय क्षेत्रपति पनि हुन् । उनलाई सात्विक, राजसी र तामसी तिनै तरिकाले पूजा गर्न सकिन्छ । उनको पूजा गर्दा रोठ चढाउने प्रचलन रहेको छ भने ठकुरी जातिले नित्यपूजा सम्पन्न  गर्छन् । यहाँ नवदुर्गामा तरबार नाच देखाइन्छ र जनावहरूलाई बली पनि दिइन्छ । मन्दिरलाई यस ठाउँमा स्थापना गर्नेदेखि लिएर पूजाआजाको प्रबन्ध मिलाउने काम पर्वतका राजा कीर्तिवम मल्लका राजगुरु बलीभद्र पौड्यालले गरेका हुन् । मन्दिरको भौतिक पूर्वाधार निर्माण गर्नका लागि गुरुयोजना बनाइए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । पर्यटकीय केन्द्र र धार्मिक गन्तव्य बनाउन कार्यसमितिका पदाधिकारी फुटेर हैन कि जुटेर लाग्नु पर्ने हुन्छ । प्रशस्त सम्भावना रहेको यस मन्दिरको चौतर्फी विकासका लागि नगरपालिकाले प्रचूर ध्यान दिनुपर्छ । यस आधारमा बलेवाको कालभैरब मन्दिरको धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक, पुराताŒिवक र पर्यटकीय महŒव प्रबल मात्रामा रहेको छ । समयमै यहाँका सम्भावनाको पहिचान गरी कार्यारम्भ गर्नु आजको टड्कारो आवश्यकता   हो ।
सन्दर्भ स्रोत
कँडेल, देवीप्रसाद, नेपालको इतिहास, काठमाडौँ ः रत्न पुस्तक भण्डार (२०५५) ।
पौड्याल, बीणा, काठमाडौँ उपत्यकाका प्रमुख उमामहेश्वर र भैरब मूर्तिहरू, ललितपुरः साझा प्रकाशन,   (२०६०) । 
व्यास, शिवमहापुराण, (टीकाकार), ज्वालाप्रसाद मिश्र, बम्बैः श्रीकृष्ण दास प्रकाशन, (२०५९) ।
आचार्य, यदुनाथ, जैमिनि नगरपालिका १ जलुकेनी, बागलुङ (आचार्य, संस्कृतज्ञ हुनुहुन्छ) ।
के.सी., रत्नबहादुर, जैमिनि नगरपालिका १ कुस्मिसेरा बजार, बागलुङ (के.सी, समाजसेवी हुनुहुन्छ) ।
ढकाल, सूर्य, बागलुङ नगरपालिका १२ बलेवा कुँडर, बागलुङ (ढकाल, भैरब मन्दिरका भूतपूर्व ठेकेदार र संस्कृतज्ञ हुनुहुन्छ) ।
थापा, दीपेन्द्रबहादुर, बागलुङ नगरपालिका १२ रायडाँडा, बागलुङ (थापा, वर्तमान समयमा अध्यक्ष हुनुहुन्छ) ।
शाही, टेकबहादुर, जैमिनि नगरपालिका १ उपल्ला खौर, बागलुङ (शाही, मन्दिरका पूजारी हुनुहुन्छ) ।



Comments

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई