Thanthap Bhagwati Mandir and Handikot थन्थाप भगवती (माई) मन्दिर र हाँडीकोट

                                 

                 
थन्थाप भगवती (माई) मन्दिर र हाँडीकोट


                                                                                 डा. टीकाराम आचार्य ‘आरुणि’
                                                                                                   २०७६।०५।२१

१. परिचय
    स्थानीय भाषामा ‘माईको थान’ भनिने माई मन्दिर जैमिनि न.पा. वडा नं. ४ सर्कुवामा अवस्थित रहेको छ । यो मन्दिर यस्तो ठाउँमा रहेको छ जहाँ जैदी र सर्कुवाको सिमाना पर्दछ । त्यही भएर यस मन्दिरको भूभागलाई जैदी र सर्कुवाले दाबी गर्दै आएका थिए । यसको भोगाधिकारका विषयमा विवाद भएपछि सकुर्वाले कानुनी प्रक्रिया पुरा गरी आफूमातहत बनाएको थियो । त्यसैले यो मन्दिर अब सर्कुवाको भूभागमा पर्न गएको छ र विवाद पनि अन्त्य भएको छ । मन्दिरको भूभाग जतातिर परे पनि आखिरमा यो ऐतिहासिक ठाउँ जैमिनि नगरपालिकाकै सम्पत्ति हो । भौगोलिक रूपमा मन्दिर क्षेत्र बागलुङ सदरमुकामबाट ३७ कि.मि.पश्चिममा पर्दछ । यहाँसम्म पुग्नका लागि सदरमुकामबाट ४ घण्टा जति कच्ची बाटो मोटरमा चढेर पार गर्न सकिन्छ भने कुम्मिसेरादेखिको १५ कि.मि उकालो बाटो पैदल पाँच घण्टामा नाम्न गर्न सकिन्छ । मोटरको उपयोग गरी कुस्मिसेराबाट एक घण्टामै मन्दिर जाने सुविधा पनि छ । यो समुद्र सतहबाट लगभग बाइस सय मिटर उचाइमा विराजमान छ । यहाँबाट उत्तरतिर ठेउले खोलो, दक्षिणतिर हर्देवा खोलो र पूर्वतिर चक्रनदी कालीगण्डकी लम्पसार परेर सुतेको   छ ।
    ‘माई’ स्त्रीलिङ्गी शब्द हो । माता, जननी वा आमा भन्ने अर्थका पर्यायमा पनि यसलाई उपयोग गरिन्छ । माताको स्थान, माताको स्थान भनेर गाउँले जनसमुदायले दोहो¥याउँदै पुकार्दै जाँदा माईस्थान वा माईको थान हुन पुगेको हो । ‘माई’ शब्दसँग ‘स्थान’ शब्द पनि सँगै जोडिएको पाइनाले यो ठाउँ पनि झाँक्रीको थान, भ्वानीको थान, बराहको थान वा कुलानी (कुल देवता) को थान जस्तै खस÷आर्य जातिको मौलिक साँस्कृतिक परम्परासँग सम्बन्धित छ भन्ने देखिन्छ । खस÷आर्य जातिको प्रभुत्व रहेको समाजमा गाउँको छेउछाउतिर यसरी कुनै एकलास ठाउँमा ‘माई पूजा’ गर्ने प्रचलन पुरानै हो । यस्ता माईका थानहरूको स्थापना गर्दा बसाइ सराइबाट आउने मानिसहरूलाई सुविधा र पायक पर्ने ठाउँ, नेटो, भञ्ज्याङ र टापु जस्ता ठाउँहरूलाई रोजिएको हुन्छ । यस्ता माईहरूको स्थापना बसाइ सराइबाट आउने मानिसले आफ्नो परम्परागत आस्थालाई थाती राख्नका लागि गरेका हुन् । यसरी माई पूजाको चलन सुरुमा कुलकुलानी जस्तै वायु पूजाबाट आरम्भ भएको र कालान्तरमा गएर उनी पौराणिक भगवती देवीको स्वरूपमा परिवर्तन भएको पनि जानकारहरूको ठम्याइ रहेको छ । यी माई थन्थाप क्षेत्रकी अदृश्य शक्ति हुन् । यिनलाई थन्थाप वरपरका सबै जाति र समुदायका मानिसले देवी, माता वा माई भनेर अर्चना गर्दै आएका छन् । त्यसैले यो मन्दिर धार्मिक विश्वासमा अडिएको अलौकिक शक्तिप्रतिको आस्थाको प्रतीक हो ।
 

२ भौगोलिक अवस्था   
    प्रस्तुत मन्दिर तत्कालीन सर्कुवा गा.वि.स.को वडा नं. ५ मा पर्ने माइका स्थान नै भन्ने पहाडको टकुरामा रहेको छ । यो ठाउँ पहाडको सिरानमा भए पनि यहाँको भूभाग सलक्क सुतेको जस्तो देखिन्छ । मन्दिरको दक्षिणतिर भने खतरनाक भिर छ जुन कडा चट्टानले बनेको छ । अन्यत्रतिर भने ससाना मोहक पाटन रहेका छन् । यो मन्दिर घना जङ्गलको बिच भागमा रहेको टाकुरोमा अवस्थित छ । मन्दिरको पूर्वतिर गाँव इलाका रहेको छ भने पश्चिमतर्फ ब्याडथला रहेको छ । उत्तरतिर एकराते छ भने दक्षिणतिर जैदी गाविसको खर्क वा धुल्लु रहेको छ । यहाँबाट करिब एक घण्टा पैदल यात्रा गरेपछि हाँडीकोट सम्म पुग्न सकिन्छ । माईमन्दिरकै निकटस्थ हाँडीकोटको चुचुरोको उचाइ समुद्र सतहबाट २१९५ मिटर छ । यस चुुचुरोमा शिवमन्दिर, भग्नावशेष कुटी र सानो पोखरी रहेको छ । यो चुचुरोे छिस्ती र राङ्खानीको सङ्गमबिन्दुमा छ । यही टाकुरामा वि.सं. १५१० भन्दा अगाडि मगर राज्य रहेको ठानिन्छ । त्यसैले माईको थान र हाँडीकोट भौगोलिक रूपमा मात्र नभएर ऐतिहासिक र धार्मिक तबरबाट पनि ज्यादा निकट र महŒवपूर्ण छन् ।
    मन्दिरसम्म पुग्ने सजिलो पैदल बाटो कुस्मिसेरातर्फबाट उकालिएको छ । कुस्मिसेराबाट तिन घण्टाको उकालो बाटो पैदल हिँडेपछि मन्दिरसम्म पुग्न सकिन्छ । त्यसो त मोटरबाट पनि यहाँसम्म जाने सुविधा छ । वर्षायाममा बाटो बिग्रिने हुँदा यातायातको विश्वसनीयता प्रभावकारी छैन । बरु चौतर्फी रमणीय वातावरण हेर्दै पैदल हिँडनु लाभदायक छ । कुस्मिसेराबाट ठेउले खोलाको पुल तरेर मौलाछको बाटो हुँदै ब्रुमको डाँडोमा पुगिन्छ । त्यहाँबाट सलक्क परेका सेता हिमाल, कुस्मिसेरा, फलेबास, दमेक र बिनामारेका हरिया खेतका फाँट र पाटापाटा परेका भिराला जमिनका पत्रहरूको मनमोहक दृश्य देखिन्छ । त्यहाँबाट उकालो लागेपछि रातामाटा, गाँव हुँदै माईको मन्दिरसम्म पुगिन्छ ।
    मोटरबाटो निर्माण गर्नुपूर्व मन्दिरको मुनिबाट पदमार्ग रहेको थियो । सोही पदमार्गको माथिल्लो भागको करिब १६ रोपनी जग्गा मन्दिरका नाममा छ । बाटामुनिको जङ्गल भने सकुर्वाको जनता माध्यमिक विद्यालयका मातहतमा रहेको छ (उमानन्द उपाध्याय) । तत्कालीन जैदी गा.वि.स.मा पर्ने अस्ताउँदी, उब्जाउँदी, ज्यामिरे र काभ्रे जस्ता ठाउँमा मन्दिरको नाममा धानखेत रहेको थियो । ती ठाउँका जग्गा व्यक्तिका नाममा दर्ता भइसकेका हुनाले हाल अस्तित्वमा छैनन् । सर्कुवाका राधाकृष्णलगायतका व्यक्तिले पैसा उठाएर बिनामारेको फाँटमा सात रोपनी १० आना जग्गा किनेका हुन् । त्यो जग्गा पनि २०५९ सालमा युद्धकालीन माओवादीले कब्जा गरेपछि मन्दिरको आयस्रोत गुमेको    थियो । वर्तमान समयमा मन्दिरको जग्गा कब्जा गरेका व्यक्तिले केही मुरी धान मन्दिरलाई दिने गरेको पनि खुल्न आउँछ । यता सात रोपनी जग्गा निर्धक्कसँग व्यक्तिले उपभोग गरेको पाइन्छ भने उता मन्दिरका पुजारीले २०५९ सालदेखि २०७५ सालसम्म निशुल्क मन्दिरको सेवा गर्नु परेको नमिठो अुनभव रहेको छ (उमानन्द उपाध्याय) । यसरी सार्वजनिक मठ मन्दिरका जग्गामाथि अधिकार जमाउनु र धार्मिक सम्पत्ति व्यक्तिका नाममा सारिँदै जानु मानवीय लोभ र मोहकै द्योतक हुन् । मन्दिरको जमिन व्यक्तिका नाममा दर्ता हुन पुग्दा र आम्दानी जति हडपिँदा आयस्रोत समाप्त भएको छ र त्यहाँको भौतिक पूर्वाधार शून्यप्राय बन्न पुगेको छ । मध्यपहाडी क्षेत्रमा अवस्थित मन्दिरका नामका सम्पत्तिको संरक्षण, उचित मात्रामा दोहन र भौतिक पूर्वाधार निर्माण गर्नु त्यहाँका सरोकारवाला निकायको प्रथम कर्तव्य हुन आउँछ ।
 

३ ऐतिहासिक अवस्था
    माईथान मन्दिर थन्थाप क्षेत्रकै प्राचीन र पुरातात्विक महŒव बोकेको धार्मिक आस्थाको धरोहर हो । यसको इतिहासको तथ्य हालसम्म प्रकाशनमा आएको छैन र त्यति ठूलो खोज अनुसन्धान पनि हुन सकेको छैन तथापि यसको प्राचीन अवस्था के कस्तो रहेको छ भनेर यहाँ सिंहावलोकन गर्ने काम भने भएको छ । मन्दिरको ऐतिहासिक तथ्यलाई प्रमाणित गर्नका लागि हाँडीकोटका भुरे र टाकुरे राज्य एवं थन्थाप राज्यको इतिहासलाई समेत केलाउनु पर्ने हुन्छ ।
    तत्कालीन समयमा बागलुङ क्षेत्रका धेरैजसो टाकुराहरूमा मगरहरूले आधिपत्य जमाएका थिए । त्यसको केन्द्र भने ढोरपाटन थियो । त्यो समय भनेको लगभग १४२९ तिर हो किनभने जुम्लाका राजा मले बमले खस राज्यको बिस्तार त्यसपछि मात्र गरेका थिए । त्यसैले हाँडीकोट केन्द्रबाट शासन चलाउने गरी भुरे मगर राजाहरूले पन्ध्रौँ शताब्दीसम्म यहाँ राज्य गरेका थिए । आग्री (मगरको थर) नामक मगर जातका मानिसहरू अद्यापि सर्कुवा र राङखानी (मगर भाषामा राङको अर्थ तामा आदि रसायन हो) मा बसोबास गर्दै आएका छन् । मगर जातिका पनि चोके (राजको चोकमा काम गर्ने), ढोके (ढोकामा पहरा दिने) र कोठे (राजाको कोठीमा काम गर्ने) जस्ता मगरको बसोबास अद्यापि राङखानी क्षेत्रमा पर्याप्त मात्रामा रहेको छ । यसरी पन्ध्रौँ शताब्दीसम्म राज गरेका मगर जातिहरूले ठकुरी राजाहरूको आक्रमणपछि हार व्यहोरेका थिए । त्यसपछि ठकुरीहरू यस क्षेत्रका राजा भए । ठकुरी राज्यको उदयपछि त्यहाँका मगर जातिहरू सिपाही, मजदुर र किसानी कर्ममा प्रवृत्त हुन पुगे । ठेउले खोलाको दक्षिणतिरको क्षेत्र थन्थाप राज्य थियो भने खोलाको उत्तरतिरको कुस्मिसेरा र दमेकको भूभाग पर्वत राज्यबाट अधिशासित थियो । इतिहासको कालखण्डमा भुरेटाकुरे राज्यबाट बाइसे चौबिसे राज्यमा परिणत भएको इतिहास यस क्षेत्रको रहेको छ । यस क्षेत्रका बोरमा प्रचलित केही सामाजिक धारणा यस्ता रहेका छन् ः
 

पहिलो सामाजिक धारणा
    हाँडीकोट केन्द्ररहेको थन्थाप राज्यलाई अधीनस्थ गर्नका लागि मल्ल राजाहरूलाई फलामका च्यूरा चपाउनु सहर भयो । खस राज्यको विस्तार गर्ने कर्ममा तल्लीन मल्लहरूले साम, दाम दण्ड र भेदको नीति अपनाउन थाले । त्यसैको फलस्वरूप मगर राज्यलाई सजिलै हराउन सकिने नदेखी पाहीका कुनै ब्राह्मणलाई मल्ल राजाले हातमा लिए । ब्राह्मणलाई सुराकीको जिम्मा दिएपछि मगर राज्यका गतिविधिहरू मल्ल राजाका आँगनसम्म पुग्न कठिन भएन । अन्ततः मगर राज्यलाई हराउने अन्तिम उपाय खेत रोपाइँ बन्न पुग्यो । एक दिन मगर राजा दलबलसहित छिस्तीको पुत्ली गह्रामा हिलो पस्न (रोपाइँ गर्न) गएका थिए । बेँठी लगाएर खेत रोपाइँ चलिरहेको अवस्थामा टाकुरामा रहेको दरबारतिरबाट अकस्मात् तोप पड्किएको आवाज आयो । राजाले ध्यानपूर्वक आफ्नो राज्य हाँडीकोटतर्फ दृष्टि दिए । उत्तिखेर नै उनले दरबारको आँगनमा रातो झण्डा फर्फराएको देखे । एउटा कूटनीति र युद्धनीति जानेका राजाका लागि यो सङ्केत पर्याप्त थियो नै । उनले आफ्नो राज्यको निकोचाला देखेनन् । उनलाई शत्रुबाट हाँडीकोट कब्जा भएको चाल पाउन समय लागेन । त्यसपछि उनी शत्रुबाट काटिने भयले त्यही हिलो खेतबाट हिलाम्मे शरीर लिएर सुइँकुच्चा ठोके (रत्नबहादुर के.सी.) । यसरी मगर राज्यमाथि भेदनीतिको उपयोग गरी मल्ल राजाले थन्थापमाथि कब्जा जमाए अनि थन्थापमा मल्ल राज्यको आरम्भ भयो ।
 

दोस्रो सामाजिक धारणा
    थन्थापमा मल्लहरूको उदय भएपछि सुरक्षाका लागि आवश्यक किल्ला र आवासहरूको निर्माण गर्नु पर्ने देखियो । अहिले मन्दिर भएको तलपट्टि तिनवटा फरकफरक पहाडी थुम्काको फेदमा दुईओटा छेडा (भञ्ज्याङ) छन् । तीमध्ये गाँवतिरबाट माथि उक्लिँदा पहिलो टाकुरोमा वर्तमान कोत (कोट) घर रहेको छ । यस कोटलाई हाँडीकोटबाट यहाँ सार्ने काम मल्लहरूले गरेका थिए (रत्नबहादुर के.सी.) । त्यसको पुछारतिर सनोतिनो भञ्ज्याङ छ  एक दिन राजाले कर्मीहरूलाई कोत घरमुनिको छेडोमा ढुङ्गा खानीमा ढुङ्गा निकल्न, फोर्न, कुँद्न र आकारमा ढाल्न लगाएका थिए । त्यही सिलसिलामा खानीबाट आकर्षक शिला निस्किए । त्यस खानीमा काम गर्ने मजदुर पाही, गाँव, अर्जेवा र व्याडथलाका थिए । ती सबै मजदुरले त्यस शिलामा देउताको स्वरूप देखे र आ–आफ्नो आवास क्षेत्रतिर लैजाने इच्छा प्रकट गरे । तिनीहरूबिच शिला आफूले लैजाउन पाउनु पर्ने प्रतिस्पर्धा नै चल्यो । भनाभन चल्दै जाँदा हात मिसामिस पनि भयो । फलस्वरूप पाहीका ज्यामीको अकस्मात् आँखा फुट्यो । त्यसपछि अर्जेवाका ज्यामीहरूले तर्कबल पाइहाले । उनीहरूले अर्जेवाबाहेक अन्यत्र त्यस शिलालाई लैजाँदा अनिष्ट हुने तर्क दिई अर्जेवाको चेखेकमा पर्ने थाम्का भन्ने ठाउँमा लिएर गई शिलामूर्तिको स्थापना गरे (उमानन्द उपाध्याय) । हाल माईको थान मन्दिरमा रहेको शिलामूर्तिको स्थापना सर्वप्रथम अर्जेवामा भएको हो र यो समय १८६५ भन्दा पहिल्यै हो ।
    थाम्कामा मगरहरूको पनि बस्ती छ । मगरबस्तीको बिचमा शिलामूर्तिको स्थापना भएको हो । त्यहाँ सुँगुर र भैँसी जस्ता जनावरको बध गर्ने गरिएको एवं सरसफाइमा पनि कमी आएको देखिएका कारण एक दिन धामी बस्ताका बखत उनैका मुखबाट माई भगवतीले त्यहाँ बस्न नचाहेको सुनियो । धामीकै मुखबाट पहाडको टाकुरामा बस्न चाहेको सुनी स्थानीय बासिन्दाले हाँडीकोट लैजाने निधो गरे । चेखेकसम्म कसरी बोकेर लगियो भन्ने पत्ता लागेन तर हाँडीकोटतिर लैजाँदाको घटना चित्ताकर्षक छ । हाँडीकोट लैजान भनी त्यहाँका मानिसले शुभ साइत हेराएर शिलामूर्ति बोक्न थाले । त्यस मूर्तिलाई कसैले पनि बोक्न वा उचाल्न सकेनन् । त्यहीँका बासिन्दा सकसबहादुर नायकले बोक्न सक्छु कि भनेर प्रयास गर्दा उनी मूर्ति बोक्न सफल भए । उनले नै पिठ्यूँमा सजिलैसँग माईको मूर्ति बोकी डाँडातिर उकालो चढ्न थाले । माथिमाथि उकालो चढ्दै जाँदा सकसलाई थकाइ पनि लाग्दै गयो । उनले मूर्तिलाई चौतारामा बिसाउने निधो गरे । अहिले जाहाँ मन्दिर छ त्यही ठाउँमा उनले माईको मूर्ति बिसाएका थिए । भारी बिसाएको मूर्ति फेरि उनले पनि उठाउन सकेनन् वा मूर्ति उठ्न मानेन (उमानन्द उपाध्याय) । त्यसपछि त्यही ठाउँमा मन्दिरको सामान्य संरचना निर्माण गरी, खरको छानौ हाली माईको स्थापना गरे । त्यही समयदेखि माईलाई स्थापना गरिएको स्थान भन्दै जाँदा वरपरको ठाउँको र मन्दिरको नामसमेत ‘माइको थान’ बन्न पुग्यो । त्यसपछि त यो धर्मिक आस्थाको केन्द्र पनि बन्न पुग्यो ।
 

तेस्रो विचार
    मन्दिरको स्थापनाका सम्बन्धमा अर्को तर्क पनि रमाइलो रहेको छ । मगर राजाहरूले बागलुुङ क्षेत्रको प्रभावकारी रूपमा शासन गर्न नसकेपछि उनीहरू रुकुमको राजधानी गोथाम गएर मल्लराजासँग बिन्ती बिसाई सहयोगका लागि याचना गरे । गोथाममा त्यतिबेला जैतुबमको राज्य थियो र उनका आठभाइ छोरा थिए । मगरहरूले छोरालाई राजा बनाउन गद्दी मागेपछि जैतुले जेठा र कान्छा छोरालाई छोडेर कुनै एक भाइलाई लैजानू भन्ने आदेश दिए । राति सुतेका अरू भाइले बागलुङ जानु पर्नेछ भन्ने थाहा पाएर शिरतिरको भाग तलतिर सारेर सुते अथवा टाउको गुजुल्टो पारे । माहिला आनन्दबमले भने सिरान तल सारेनन् । उनको सिरान माथितिर सरेको वा सिधा तरिकाले सुतेको देखी गद्दी माग्न गएका मगरहरूले आनन्द बमलाई ल्याई राजा बनाए ।
    मिति १५१० मा आनन्दबम बागलुङको राजा बन्दाका बखत पनि थन्थाप राज्य टाकुरे राज्यमै सीमित थियो । उनीपछि डिम्ब बमले गोलकोट राज्यमाथि १६३१ मा विजय प्राप्त गरे र आफ्ना कान्छा भाइलाई त्यहाँको राजा बनाएका थिए । गोलकोट र थन्थापको सुमधुर पारिवारिक सम्बन्ध थियो । थन्थापका कुनै एक राजा निसन्तान भएका हुनाले निकटस्थ हकदार गोलकोटे राजालाई बसक दिएर काशी (बनारस) गएका थिए (रत्नबहादुर केसी) । थन्थाप राज्य गोलकोटमा गाभिएपछि हाँडीकोटको कोतघर गाँव गाउँको सिरान लाँकुरीबोट चौतारोको माथितिर सारिएको थियो । त्यसपछि थन्थापको प्रशासन त्यहीँबाट चालाउने व्यवस्था गरिएको थियो । गोलकोटे मल्ल राजाहरूले भैरब वा दुर्गालाई शक्तिको प्रतीकका रूपमा पूजा गर्ने हुनाले उनीहरूले माईको मन्दिर स्थापना गरेका हुन् (रत्नबहादुर केसी) । गोलकोटमा उन्नाइस जना राजाले शासन गरेका थिए । जसमा भरत बम सोह्राँै राजा (अन्तिमतिरबाट तेस्रा) थिए । उनकै पालामा माई मन्दिरको स्थापना भएको ठम्याइ पनि छ (रत्नबहादुर केसी) । उनीपछि पनि दुई जनाले शासन गरेको देखिँदा १८०० सालतिर यस मन्दिरको जग बसालिएकोे देखिन्छ । बम राजामध्येका तिन जनाले पक्कै पनि बाह्र तेह्र वर्ष त शासन गरे होलान् ।  त्यस हिसाबले गोलकोट राज्यको अन्त्य १८४२ मा भएकोे हुनाले यहाँको मन्दिर र कोतघरको निर्माण समय यो भन्दा पहिल्यै रहेको देखिन आउँछ । पर्वत राज्य गोर्खामा गाभिएपछि गोलकोटे राजाले युद्धमा पराजित हुने ठानी श्री ३ भीमसमशेरलाई चढाएका थिए । भीमसमशेरले गोलकोटलाई रजौटा राज्य रहन दिएको इतिहास पनि छ । उल्लिखित तथ्यले माईको मन्दिरलाईको समाय अठाराँै शताब्दीको रहेको देखाएको छ ।

चौँथो विचार र सत्यता
    माथि दिइएका तर्कहरूका साथै मन्दिरमै लिखित सामग्री पनि उपलब्ध छ । मन्दिरमा एउटा ताम्रपत्र रहेको छ । त्यसमा भने सकसबहादुर नायकले १८६५ साल पौष १९ गते हालको मन्दिको स्थापना गरेको उल्लेख गरिएको छ । ताम्रपत्रको भाषाको नमुना यसप्रकार रहेको छ ः
श्री गणेशाय नमः
श्री नमस्चण्डिकायै
स्वस्ति श्री भवायमानौ गत्यादिसकलगुणागरिस्ट राजभारसमाप्यम्ताम्रा श्री थन्थाप अर्जेवा १ बस्ने हबल्दार सकसबहादुर नायक खत्रीले यहाँको ढोका माता माइका थानमा इति संवत् १८६५ साल पौष १९ गते बार २ शुभम् ।
    सकसबहादुरले स्थापना गरेको माईको मन्दिर कालान्तरमा जिर्ण हुँदै गएर भत्किएपछि मौलाछका हरिदत्त पाध्याले १९८९ मा पुनर्निर्माण गरेका थिए । मन्दिरको ताम्रपत्र अहिले पनि सुरक्षित राखिएको छ (उमानन्द उपाध्याय) । मन्दिरका शिलामूर्तिलाई १८६५ मा अहिलेका ठाउँमा ल्याइए पनि त्यसपूर्वको घटना पनि मन्दिरको इतिहास केलाउनका लागि उपयोगी रहेको छ । ढुङ्गाखानीका मजदुरले चोखेकको थाम्कामा पु¥याएको करिब ५०÷६० वर्षपछि त्यहाँ बस्ती बढ्दै गए होला । अनि मात्र मन्दिरलाई बस्तीबाट टाढा राख्ने निधो भए होला । त्यसैले १८६५ को ताम्रपत्र पाइनु र त्यसअघि पनि मन्दिरको स्थापना चोखेकमा हुनुले त्यहाँको मन्दिर यस समयभन्दा पहिलाको हो भन्ने देखिन्छ । मल्ल राजाहरूले स्थापना गरेका हुन् भन्ने दोस्रो तर्कलाई आधार मान्ने हो भने पनि १८४२ मा गोलकोट राज्य गोर्खाको एकीकरणमा समावेश भएको थियो । एकीकरणको समय भन्दा पहिल्यै मल्ल राजाले त्यहाँ दुर्गाको स्वरूपमा माईलाई पूजा गर्ने व्यवस्था मिलाएको हुनुपर्छ । यस आधारमा यसको समय १८४२ भन्दा पूर्व हुन आउँछ । त्यसैले यस मन्दिर वर्तमान समयको ठाउँमा स्थापना भएको समय १८६५ साल भए पनि चोखेकमा त्यसभन्दा पहिले स्थापना गरिएको हो भन्ने माथिको विश्लेषणबाट देखिएको छ ।
 

४ मन्दिरको वर्तमान अवस्था
    चारैतिर झ्याम्म परेका रुखहरूले ढाकिएको मन्दर पहाडको थुम्कोमा अवस्थित छ । मन्दिरमुनि घोडेटो बाटो छ । यो बाटोको मनिसहरू नुनतेल लिनका लागि, चेलीहरू घरमाइत गर्नका लागि र स्थानीयहरू दाउरा घाँस गर्नका लागि उपयोग गर्छन् । अहिले मोटरबाटो बनेपछि घोडेटोबाटो बिस्तारिएको छ । यस बाटोमुनिको जङ्गल चरिचरनका लागि उपयोग गरिन्छ तर बाटोमाथि भने जगेडाको वन भनी त्यहाँ घाँसपात गर्ने र पशुचौपाया चराउने चलन छैन । गोठालाहरू र बटुवाहरूले बाटोकै छेउमा रहेको कुवाको पानी खान्थे । कुवामा जम्मा भएको पानी पशुले र तिरतिरे धाराको पानी पातको सोली बनाएर मानिसले पिउँथे । देउता नरिसाऊन् भनेर पानी प्यूनुपूर्व वनदेवीलाई चढाउने चलन रहेको छ । तलतिरबाट मन्दिरमाथितिर उक्लँदा ढुङ्गाका सिँडी छन् । त्यहीँ नै पूर्वी प्रवेशद्वार रहेको छ । प्रवेशमार्गमा रुखका हा“गामा बा“धिएका धजा र ढुङ्गामाथि बटुवाले राखेको पातीको थुप्रो देखिन्छ । वरिपरिबाट ढुङ्गाको बान्नो (पर्खाल) लागाएर मन्दिरको जमिनलाई सुरक्षित गरिएको छ । काटछाँटको अभावमा उत्तिस, मौवा, चिलाउनी, पैयुँ र लाँकुरीका रुख सलक्क परेर आकाशिएका छन् । बाटोका वरिपरि जेलिएको झाडीले पुञ्ज जस्तो बनाएको छ । चिसो ठाउँ भएको हुनाले साह्रै रसिलो घाँस वरिपरिको वनमा पाइन्छ । मन्दिर लगभग यस थुम्काको बिच भागमा छ । मन्दिरसँगै जलभण्डार गृह, शौचालय र तारजालीले बाँधिको संरचना छ । मन्दिर प्रवेश गर्नका लागि अर्को द्वार ब्याडथलातिर फर्केको छ । यसको अगाडितिर सुतेको जमिन छ । उक्त पश्चिमी ढोकाको अगाडि एउटा ठूलो तर सुक्न लागेको रुख चौतारोका आडमा थियो । त्यसमा मंगलबारका दिनमा वा चाडबाडमा सानो घुम्ती पसल राखिन्थ्यो । चिया पनि पाक्थ्यो । धजापताका पनि बेचिन्थे । मन्दिरमा चढाउने परेवाका जोडी पनि त्यहीँ पाइन्थ्यो तर माओवादी युद्धपछि यहाँको चहलपहल बिस्तारै चकमन्नतामा परिणत हुँदै गयो । मानिसको आइजाइ नहुँदा मन्दिरको जीवनतता बिस्तारै समाप्त हुँदै  गयो । वर्तमान समयसम्म पनि त्यहाँको पुरनो पाराको रौनक फर्किन सकेको छैन । अब यतिमै चित्त बुझाउनु पर्छ कि युद्धकालीन समयमा पनि मन्दिरमा कुनै क्षति हुन पाएन ।
    शिखर शैलीमा निर्माण गरिएको मन्दिरको सबैभन्दा माथिको छानो तामाले आच्छादन गरिएको छ । त्यो काम सकसबहादुकै पालामा भएको हो । चोखेकमा कस्तो अवस्थाको थियो भन्ने कुरा इतिहासकै गर्भमा लुुकेर बसेको छ । वर्तमान समयमा रहेको मन्दिरको पाली भने १९८९ सालमा पुनर्निर्माण गरिएको हो । पुनरुद्धारका लागि गुठी संस्थान र पुरातŒव विभागबाट केही रुपियाँ निकासा पनि भएको थियो । उक्त छानोमुनिको पाली र सत्तल २०५८ सालको गुठी संस्थानबाट उपलब्ध बजेटबाट बनाइएको हो । मन्दिरको पालीमा तामा राख्दा र सत्तल बनाउँदा करिब पैसठ्ठी हजार खर्च भएको छ । त्यो खर्च पुरातŒव विभागबाट जुटाइदिने काम कुस्मिसेरा, टारका हरि आचार्यले गरेका थिए । त्यसलाई मन्दिरको निर्माणमा उपयोग गर्ने काम अर्जेवाका अम्मरबहादुर क्षेत्रीले गरेका थिए । सत्तलको छानो छाउने ढुङ्गा भने ब्याडथलाका दलबहादुर नायकले उपलब्ध गराएका हुन् । उनीहरूकै सक्रियतामा मन्दिरको पाली मर्मत गर्ने र सत्तल निर्माण गर्ने प्रशंसनीय काम सम्पन्न भएको हो ।
    सत्तल शैलीको माई मन्दिर देख्दा सामान्य जस्तो देखिए पनि यो सानातिना दुःखले बनाइएको होइन । यसमा पुर्खाहरूको रगत, पसिना, समय र उत्कट विश्वास सिञ्चित रहेको छ । मन्दिरको निर्माण गर्दा जनश्रमदान त धेरै नै भए । त्यसका अतिरिक्त केही दाम पनि खर्च गरिए । लगभग समान इटाको आकारमा कुँदिएका बाग्लुङे ढुङ्गाले मन्दिको गाह्रो लगाइएको छ । त्यसरी गाह्रो लगाउँदा चाहिने आकारीकृत ढुङ्गाहरू आधाघण्टा तलतिर पर्ने जनैमन्तर्ने पोखरीबाट बोकाएर ल्याएका हुन् । तिनलाई मिहीन तरिकाले गाह्रोमा सजाउने र सुर (मसिनो गरी त्रिकोणमा काटिएको चुच्चे ढुङ्गो) मिलाउने काममा बिनामारेका विश्वकर्मा अत्यन्तै सिपालु मनिन्थे । उनीहरूले बनाएका घर र मन्दिर जैमिनि क्षेत्रमा प्रशस्तै पाइन्छन् । यस मन्दिरमा पनि ढुङ्गामा कुँदिएको कला सुन्दर रूपमा देख्न सकिन्छ । लगभग एकनासको आकारमा पत्थलाई काटेर मन्दिरमा मिलाएर राख्नु चानचुने कुरा   होइन । मन्दिरलाई जमिनको औसत भागभन्दा तिनवटा श्रेणीभन्दा माथि उठाएर चौको आकारमा जग खडा गरिएको छ । त्यहीँबाट मन्दिरको उपल्लो भाग सुरु भएको छ । मन्दिरको चौतर्फी भाग बर्गाकारमा फैलिएको छ । तलेशैलीमा निर्माण गरिएको हुनाले यस मन्दिरका दुईवटा तला छन् । छानामा तामाको लेप लगाइएको छ । छानाको माथि गजुर छ । छानालाई अड्याउनका लागि र आकर्षक देखाउनका लागि चारैतिर टुँडाल कुँदिएका छन् । मन्दिरमा राखिएको ढोका आकर्षक तरिकाले कुँदिएको छ । प्रवेशद्वार पूर्वतिर फर्र्किएको छ । प्रवेशद्वार, निदाल र टुँडाल लगायत मन्दिरका अवयवमा उपयोग गरिएका काठहरू सालका हुन् । त्यसो त यस भूभाग वरिपरिको वनमा सालका रुख पाइन्नन् तर पनि काठ अग्राख नै हुन् । यी काठहरू जैदीका रहोटे, बोर र कुइधाङदेखि घण्टौँ उकालो बाटो मानिसले बोकेर ल्याएका हुन् । धर्म हुन्छ भनेपछि मानिसहरू जस्तोसुकै मूल्य चुकाउन किन पछि पर्थे र ?
    मन्दिरको माथिल्लो भागमा चारैतिर आँखिझ्यालले शोभा दिएका छन् भने तल्लो भागमा तिनतिर मात्र गवाक्ष राखिएको छ । मन्दिरको छानो काठका बला तेस्र्र्याएर यहाँको विशेष प्रकारको पातलो ढुङ्गाले छाइएको छ । ढोकाको आडमा सानो खोपो छ । त्यसमा सानो शिलामूर्ति राखिएको छ । सानोतिनो तरबारको प्रयोग गरी त्यही खोपोमा रहेको शिलामाथि कुखुरा र परेवाको बलि दिइन्छ । प्रवेशद्वारको मोहोडामा नै प्रवेश सिँढी रहेको  छ । सिँढीको अगाडि ढुङ्गाले छापिएको सानो प्राङ्गण छ । त्यस प्राङ्गणको ठिक बिच भागमा काठको मौलो छ । ढोकाको अगाडि काठको थाममा निदाल राखेर घण्ट झुण्ड्याइएको छ । मौलोसँगै भक्तले ल्याएका बाँस र पैयूँका लिँगा गाडिएका छन् । यही मौलोमा बाँधेर पशुबलि दिइन्छ । आडैको होमशालामा सप्तसती पाठ पारायण सकेपछि भक्हरूले अग्निमा आहुति दिएर फर्किन्छन् । होमशाला पनि पत्रे चट्टानबाट निर्माण गरिएको छ । मन्दिरको पृष्ठ भागमा सत्तल पनि निर्माण गरिएको छ । त्यसलाई केही यज्ञयज्ञादि गर्दा र चाडपर्व पर्दा विशेष पूजा गर्न उपयोग गरिन्छ । मन्दिरका यी अवयवले पुराताŒिवक महŒवलाई दर्शाएका छन् । मन्दिरको यस बाहिरी संरचनाले इतिहासको गहनतालाई जीवन्त रूपमका खुला पुस्तकका समान व्यक्त गरेको छ ।
    मन्दिरभित्र चारवटा शिलाका मूर्ति छन् । यिनमा कुनै पनि देवताको अकृति कुँदिएको छैन । यी मात्र प्राकृत शिला हुन् । यी चारवटा शिलामूर्तिलाई महाकाली, महालक्ष्मी, महासरस्वती र महागौरीका नामबाट पुकार गरिने र सोहीअनुरूप पूजा पनि गरिन्छ । त्यसका अतिरिक्त मन्दिरभित्र गणेशको शिलामूर्ति, बली दिनका लागि बाहिरी खोपामा राखिएको शिलामूर्ति, २०७४ सालमा मौलाछका रामकृष्ण चालिसेले स्थापना गरेको मार्बलको दुर्गा मूर्ति र २०७४ सालमै राङखानीका ओमबहादुर श्रीस र हेमा श्रीसले पित्तलको दुर्गामूर्ति स्थापना गरेका छन् । वर्तमान समयमा यहाँ चारवटा दैवत आकृति नकुँदिएका र दुईवटा मुहार सहितका मूर्ति रहेका छन् । मन्दिरमा ताम्रपत्र, चरेसका थाल, केही थान घण्टा, पूजा गर्ने भाँडा र पुरातŒिवक महŒवका धेरै सामग्री छन् । यसबाहेक यहाँका पञ्चेबाजा, मन्दिरमा रहेका टुँडाल, घण्टी र ढोका समेत चोरी भएका थिए । मन्दिरको यस्तो वर्तमान अवस्थाले यसको संरक्षण र नवनिर्माणको अपेक्षा गरेको छ । यसले मानवीय हस्तक्षेप र निष्क्रियताको मौन रूपमा विरोध गरेको छ । मनवीय संरक्षण र योजनाबाट नै मन्दिरको अस्तित्व जीवन्त बन्ने त हो । मनवीय क्रियाकलापले त शून्यता भङ्ग गर्ने हो । विश्वासले नै त मन्दिरको आस्थालाई जोडतोडले जगाउने हो ।  
 

५ धार्मिक तथा सांस्कृतिक महŒव
    प्रारम्भिक अवस्थामा माईलाई सिमे, भूमे, झाँक्री, बराह र कुल जस्तै वायु देउताका रूपमा पूजा गर्ने चलन थियो किनभने झाँक्रीको स्थान, बराहको स्थान र कुलदेवताको स्थान जस्तै माईको स्थान भन्ने आञ्चलिक परम्परा अद्यापि प्रचलित छ । त्यसैले यी माई पनि सुरुमा यस्तै मष्टो परम्पराबाट विकसित भएकी देवी हुन् । स्थानीय समाजमा प्रचलित कतिपय नियमले पनि यस परम्परालाई खुलाउन थप बल दिएका छन् जस्तैः भगवती मन्दिरमा महिलाले पूजा गर्न नहुने र प्रसाद पनि खान नहुने विश्वास गरिन्छ । यस मन्दिरमा बली चढाएका प्राणीहरूलाई खोलो तारेर लैजान नहुने पनि मान्यता छ । बलीप्रदत्त पशुहरूको मांस महिलाले सेवन गर्न नहुने पनि जनश्रुति छ । यस्तो नियम झाँक्री र कुलपूजा आदिमा पनि लागु हुन्छ । त्यसैले यो माई पूजाको चलन सुरुवाति अवस्थामा वायुपूजाकै समान प्रवृत्तिको थियो भने कालान्तरमा यसलाई पौराणिक देवी दुर्गा भगवती मानी पूजा गरिने गरिएको तथ्य पाइन्छ । त्यही माईपूजा वर्तमान समयमा पौराणिक दुर्गा भगवती पूजामा परिणत भएको खुल्न आउँछ । अतः यहाँको माईपूजा सामाजिक÷सामूहिक आस्थाबाट विकसित भई धार्मिक विश्वासमा रूपान्तरित भएको धार्मिक विश्वासको प्रतीक हो ।
    मन्दिरमा ‘थरघर’ (घरगन्तीका हिसाबले तयार पारिने पूजा) परम्परानुसार पूजा गर्ने प्रचलन रहेको छ । यस्तो परम्परामा हरेक घरबाट पूजाको सरजाम निकालिन्छ र एक ठाउँमा जम्मा परेर माईको पूजा गरिन्छ । गुठीबाट प्राप्त भएको अन्नको पनि मिसोट तयार गरिन्छ । सबै सरजामलाई फरकफरक तरिकाले छुट्याएपछि चामलको पिठोको रोठ, चामलको खिर र अन्य हविष्य अन्नको उपयोग गरी भोग लगाइन्छ । यस्तो तरिकाले हरेक वर्ष बडा दशैँ, चैते दशैँ र राम नवमीमा पूजाआजा गराउने काम कोत (कोट) ले सम्पन्न गर्दै आएको छ । पुलि लिने, न्वागी खाने, बडा दशैँमा टीकाको साइत निर्धारण गर्ने काम पनि कोटले गर्दै आएको छ । माईलाई हरेक गाउँपञ्चायतबाट वर्षैपिच्छे पालैपालो गरी पञ्चायत प्रमुखको नेतृत्वमा पूजा दिने प्रचलन पनि रहेको थियो । यसरी आफूबाट शासित गाउँका मानिसलाई आफूप्रति उत्तदायी भएको देखाउन तत्कालीन शासकहरूले थरघरको प्रचलन बसाएको बुझिन्छ । यसरी माई मन्दिर एकातिर पुुरातन राजकीय सत्ताको आस्थाको केन्द्र रहेको देखिन्छ भने अर्कोतिर शक्ति र विश्वासको प्रतीक पनि रहेको भेटिन्छ ।
    प्राकृतिक प्रकोेप र रोगजन्य भयबाट सुरक्षित हुनका लागि पनि माईको आराधना र प्रार्थना गरिन्छ । गाउँले जनसमुदायमा चेतनाको विकास नभएका अवस्थामा, चिकित्सा विधिको उपलब्धताको अभावमा र अलौकिक शक्तिमाथि धेरै नै विश्वास भएका अवस्थामा देउता भाकेर रोग समनको उपाय खोजी गरिन्थ्यो । बिफर, पानीसरा, ठेउलाजस्ता रोग लाग्दा र पशुचौपायाहरूको हानीनोक्सानी हुँदा आफूहरू बँच्न र अरुलाई बचाउन माईको पूजा गर्ने प्रचलन थियो । अझ स्थानीयहरूले बिफर बढी सङ्क्रमित भएको अवस्थालाई ‘माई उछर्नु’ पनि भन्थे । यसरी बिफरको महामारीबाट प्रभावित हुनुलाई देवी रिसाएको ठान्नु र त्यही महामारीबाट परिवारलाई मुक्त राख्नका लागि माईको आराधना गर्ने प्रचलन रहेको छ । त्यसका अतिरिक्त शत्रुसाँध्नका लागि, सन्तान प्राप्तिका लागि, गोधनको रक्षा र अन्नबालीको सहकालका लागि पनि माईको पूजा गरिन्छ । यसरी माई प्रसन्न पार्न वैदिक विधिभन्दा तान्त्रिक र सम्मोहन विधिको ज्यादा प्रयोग गरिन्छ । यस तथ्यले माई भगवती थन्थाप क्षेत्रकी रोग निवारक, शक्ति दायक र परिवार रक्षकका रूपमा बिराजमान रहेको देखाउँछ ।
    माईको पूजा गर्दा पञ्चेबाजा बजाउने चलन पुरानै हो । मन्दिरमा हाल यो चलन विशेष अवसरमा मात्र सीमित छ । बिली दिने समयमा यहाँ बाजा बजाएर नगरा लागाउँदै गाउँला फेरो मार्ने प्रचलन थियो । अगाडिअगाडि पञ्चेबाजा, बजापछि पर्सिएका पशु, पशुपछि हकाधिकारी, उनीहरूपछि भजन गाउने भजने र त्यसपछि जनसमुदायको लाम लगाई गाउँलाई परिक्रमा गरी मन्दिरमा पुगेर समापन गरिन्थ्यो । यसरी बाजा बजाएर गाउँलाई पुुटित गर्दा (अनुबन्धन) गाउँबाट रोग हटेर जाने र सहकाल भित्रिने स्थानीयको विश्वास थियो । वर्तमान समयमा यसरी गाउँलाई परिक्रमा नगरिए पनि बलीपूजा भाकल गर्ने धार्मिकजनले घरैैदेखि इष्टमित्रसहित मन्दिरसम्म बाजा बजाउँदै जाने परम्परा भने जीवित छ । यसो गर्नाले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बृद्धि हुने र प्राकृतिक प्रकोपले पनि नसताउने विश्वास पाइन्छ । माईप्रतिको यस्तो अमिट विश्वास अद्यापि आस्तिक जनमा रहेको पाइन्छ ।
    माईको पूजा गर्नका लागि आर्य र मंगोल जातिलाई कुनै किसिमको रोकतोक छैन । बाजा बजाएर मनोरञ्जन प्रदान गर्ने परियार समाज, बाजाहरू निर्माण गर्ने विश्वकर्मा समाज र शारीरिक श्रमबाट मन्दिर निर्माण गर्ने हरिजन जाति, थन्थापको सीमा रक्षामा तैनाथ रहने क्षत्री र ठकुरीहरू अनि अगुवा बनेर हिँड्ने, परेका बेलामा मन्त्र पनि फलाकी हाल्ने ब्राह्मणहरू सबैलाई माईको पूजा गर्ने सुविधा रहेको थियो । यसरी यस धार्मिक आस्थाको धरोहरले सबै आर्यजातिको अस्तित्वलाई एक ढिक्कामा समेट्ने काम गरेको  छ । यस परम्परालाई यहाँका सबै सामाजिकले जोगाउनुपर्छ र जातीय आधारमा कसैलाई पनि भेदभाव नगरी मन्दिरमा पूजा गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसबाट नै आर्य जातिको अस्तित्व चिरकालसम्म सुरक्षित रहने देखिन्छ ।
    सनातन धर्मावलम्बीहरूको आस्थाको धरोहर माई मन्दिरमा सामान्य तरिकाको पूजा विधिको उपयोग गरिन्छ । मूर्तिको पूजा गर्दा जलपूजा, सङ्कल्प, दियो, कलस, गणेशको पूजा गरी चारवटा दुर्गाको पूजा गरिन्छ । यसरी पूजा गर्दा यस्ता मन्त्र बोलिन्छन् ः
    थन्थापेश्वरी हे देवी महागौरी सरस्वती
    महालक्ष्मी नमस्ते छ महाकालीकन पनि ।
    भाकलको पूजापछि धूपबत्ती गर्ने समयमा यस्ता पुकार सुनिन्छन् ः
    डाँडाकाँडाले छेकेका भगवानले देखेका मैले केही जानेको छैन माता ! हे परमेश्वरी     माई भगवती इच्छा पूरा गर ! आँटे ताकेको पुगोस्, रोगव्याधि नलागोस्, घरमा     सहकाल आओस् रक्षा गर परमेश्वरी ! अमुक (भाकलवालाको नाम भन्ने) नाम गरेको     व्यक्ति भाकल लिएर आएको छ । तिनको मानकामना पूरा भयो है माता ।
    माईलाई सम्झेर गाइने भजन
    थन्थापकी कालीमाई दक्षिण दिशा जाऊ
    दक्षिण दिशाकी योगीनीले कृपाला जगाऊ ।
    यसरी मन्त्र भन्दै धजा बाँधेर, फूल अक्षता चढाई, दुधको धार दिई मनैपाइ माइको पूजा गरिन्छ । मन्दिरमा पूजा गर्नुपूूर्व निराहार बस्नु पर्ने नियम छ । मन्दिरभित्र प्रवेश गर्दा फुल चढाउने र बाहिर निस्कँदा धजा बाँध्ने चलन छ । जेठ र कार्तिक महिनाको पहिलो मंगलबार रीतिपूर्वक बलीपूजा गरिन्छ । माइको मन्दिरमा थाल, छत्र, घण्ट चढाइन्छ र पशुहरूको बली दिइन्छ । यसरी माईको पूजा गर्दा सर्वसुख हुने विश्वास छ । त्यस्तै घरायसी फलफुल, दुध, घिउ, ध्वजा र रोठ चढाई माईको पूजा गरिन्छ । अन्न प्राप्तिका लागि भकारी, धन पाउनका लागि रुपियाँ, सन्तन प्राप्तिका लागि मूर्ति, विद्या प्राप्तिका लागि लेखनी, सुन्दरी स्त्री प्राप्तिका लागि काइँयो र सुन्दर बस्त्राभूषण पाउनका लागि भनेर धजा चढाउने चलन छ । पौराणिक पाठ चण्डी पढेर, महाकालको जाप मौन वचान गरेर अनि मृत्युञ्जयका स्तोत्र भट्याएर माईलाई खुसी पारिन्छ । जौ, तिल, धान र चामलको मिसोट (चरु) वा खिर आगोमा मन्त्र भनेर स्वाहा भन्दै होम गरिन्छ । होमनान्तमा तरेखु लगाइन्छ र हातमा धजा बाँधिन्छ । अक्षता लगेर परिवारलाई दिई निव्र्याधिताको कामना गरिन्छ । यसरी माईको मन्दिरमा वैदिक विधिभन्दा ज्यादा मात्रामा परम्पराबाट प्रचलित संस्कृतिबाट विकसित स्थानीय विशिष्ट तरिकाको पूजा गरिन्छ । जसमा स्थानीय मौलिकता सन्निहित रहेको पाइन्छ । यस पूजामा सनातन आस्तिक धर्मको प्रभाव रहेको त छ नै त्यसका अतिरिक्त सामाजिक विश्वासको पनि छाप पर्याप्त मात्रामा परेको छ । त्यस कारण माईको मन्दिर अलिकति पौराणिकता र अलिकति सांस्कृतिक मौलिकता मिसिएको प्राचीन आस्थाको धरोहर हो । यसले कम्तीमा पनि यस क्षेत्रको सांस्कृतिकतालाई सुरक्षित राख्ने काम गरेको छ ।
 

६ पर्यटकीय विशिष्टता र सम्भाव्यता
    थन्थाप कोट र माई मन्दिरको पहिलो पर्यटकीय विशिष्टता धार्मिक आस्थामा अन्तर्निहित रहेको छ । यस ठाउँको पर्यटकीय क्रियाकलापका बारेमा चर्चा गर्दा हाँडीकोटलाई पनि छुटाउनु हुँदैन । हाँडीकोट र माईमन्दिरको ज्यादा मात्रामा धार्मिक र पर्यटकीय महŒव दृश्यगोचर हुन आउँछ । हाँडीकोटको शिवमन्दिर र माईको मन्दिर दुबै धार्मिक आस्थाका वाङ्मुख हुन् । शिव र माई भगवती सनातन धर्म मान्ने आस्तिक र बुद्ध धर्मानुयायीका लागि बढी आकर्षणका केन्द्र बनेका छन् । जैविक विविधता र हिमाली सौन्दर्यको मोहकता यहाँको मूल रोचक पक्ष हो ।
    थन्थाप कोट र मन्दिर क्षेत्रमा पुराताŒिवक महŒवका सामाग्री प्रशस्त पाइन्छन् । बलेवा कोटमा तिब्बतीयन तोप भएजस्तै थन्थाप कोटमा मल्ल राजाहरूका पालाको छपन्नी तोपको अवशेष र कोतघर आज पनि देख्न पाइन्छ । त्यस्तै हाँडीकोटमा प्राचीन शिवमन्दिर र पोखरी रहेको छ । भत्किएका घर र कुटीका भग्नावशेष असरल्ल छन् । प्राचीन बाजा, भाँडावर्तन, ताम्रपत्र, मन्दिरको छानोमा प्रयोग गरिएका धातु, खुँडा, घण्टा र धातुनिर्मित मूर्तिहरूले यहाँको प्राचिनता भल्काएका छन् । मल्ल राजाका पालाको रानीले कपाल कोर्ने ढुङ्गो, जङ्गलका बीचको कुवा र मन्दिर निर्माणमा उपयोग गरिएका ढुङ्गामा झल्किएको कालीगढीले प्राचीन कालीन कलाको उत्कृष्ट नमुना पेस गरेका छन् ।
    गुराँसे वन थन्थाप क्षेत्रको धन हो । ब्याडथला र मन्दिर वरपरको क्षेत्र पहाडको उच्च भूभागमा अवस्थित भएको हुनाले यहाँ प्रशस्त मात्रामा गुराँस लगायत जडीबुटीजन्य वनस्पति पाइन्छन् । हरियोे लेकाली वनको सदावहार हरियाली यहाँको रत्न हो । मन्दिरको वरिपरि धेरैजसो गुराँसे वनको सुन्दरता प्रकट रूपमा नै झल्किएको छ । यहाँको आसपासको वनमा चुत्रो, टिमुर, अमिली, औसेलु, मलाय, कटुस, हाडेकाफल, भालुऔसेलु, निबारो, भाङ, गेडुलो, खन्यु, क्युकाफल, नास्पति, अम्बा, बहुमूल्य जटीबुटी मुसेली जस्ता खाद्य वनस्पति पहिचान भएका छन् । भलायो, चिलाउनी, मौवा, झियानो, धाइरो, मल्लातो, बाँस, निगालो, सल्लो, उत्तिस, पैयूँ, पाखुरी, अयँर, सेतभरुवा जस्ता कडा काण्ड भएका रुखहरू पनि यहाँ प्रशस्त पाइन्छन् । दम्केर्नो, दैचाम्ले, घोडाटाप्रे, चरिम्लो, हललेको साग, सतुवा, विस्मा, पहेँले, भुत्केश, रक्तमूल, रक्तताल, केमानो, सउर (वास्नादार रुख), धाइरो, सिरु, अम्रिसो, गिठा, भ्याकुर, वनतरुल जस्ता जडीबुटीको त यो ठाउँ खानी नै हो । कालिज, मृग, दुम्सी, तिथिर्को, हलेसो, जङ्गली खरायो, चरी बाघ, वन बिरालो र चितुवा यहाँका वनैया जीव जन्तु हुन् । यहाँ दार नाम गरेको विशेष प्रकृतिको रुख पाइन्छ । त्यो रुख काठका भाँडाकुँडा ठेकी, पाथी, आरी जस्ता सामग्री बनाउनका लागि उपयोग गरिन्छ । यहाँका काठे बर्तन पश्चिमाञ्चल क्षेत्रमा ज्यादै प्रचलित छन् । तिनीहरूको व्यापार चैत्राष्टमी र राम नवमी जस्ता पर्वमा बागलुङ बजारसम्म पु¥याएर बेच्ने गरिन्छ । यहाँ अन्य पहिचान नभएका वनस्पति पनि धेरै छन् । त्यसैले माईको स्थान वरपर र हाँडीकोट आसपासको क्षेत्र जैविक विविधताको भण्डार हो । उल्लिखित वनस्पतिमध्ये नेपाली कागज बनाउने सेतभरुवा, यार्सागुम्बा जस्तै शक्तिबर्धक औषधी मुसेली, दारको काठ र पंक्षीमा कालिज यहाँका अति आकर्षक र बहुमूल्य सजीव वस्तु  हुन् ।

    हाँडीकोटको दक्षिणतिर हर्देवामा वायु देवता सिद्ध बाबाको गुफा छ । हरेक वर्ष यिनको पूजा गर्दा भेडाको साँडको बली दिइन्छ र खिर रोटी चढाएर पूजा पनि गरिन्छ । पूजा गरेको दिनको मध्य रातमा सेता घोडामा चढी सिद्ध बाबा आएर अन्न र पशुबली स्वीकार गरेर जान्छन् भन्ने स्थानीय बासिन्दाको विश्वास छ (चूूडामणी उपाध्याय) । यिनको पूजा गर्नाले जङ्गली जनाबरबाट आफू र आफ्ना पशुचौपाया रक्षित हुने ठानिन्छ । यस्तै ब्याडथलाको दक्षिणतिर धुल्लु जाने बाटोमा देउते पानी छ । त्यहाँको सानो ओडारमा पौडेलका लुकुवा छन् । प्रचीन कालमा ती देउताले पूजा गर्ने समयमा आफैँ तामाका भाँडा निकल्ने र पूजा सकिएपछि आफै राख्ने काम गर्थे भन्ने जनश्रुति रहेको छ (चूूडामणी उपाध्याय) । यी सबै धार्मिक, सांस्कृतिक र जैविक अनेकताले यस ठाउँको पर्यटकीय महत्तालाई बढी मात्रामा उजागर गरेका छन् ।

    माइको स्थान र हाँडीकोट वरपरको क्षेत्र वरपर भौगर्भिक खानी पनि प्रशस्त मात्रामा पाइन्छन् । ब्याडाथलाको नजिकै हाँडीकोटको दक्षिणमा हर्देवाको भिरमा पत्रे चट्टान (स्लेट ढुङ्गा) को ठुलो खानी छ । यसकिसिमको ढुङ्गाको विशेष उपयोग घर छाउनका लागि गरिन्छ । यो त्यस क्षेत्रमा ज्यादै लोकप्रिय पत्रे ढुङ्गो हो । त्यस्तै नक्कासी (कार्भिङ) ढुङ्गा, निलो तुथो (सुपर काइनेटिक), तामा खानी र खरी ढुङ्गाका खानी यहाँ पाइन्छन् । यीमध्ये पनि घर छाउने ढुङ्गा वर्तमान समयमा पनि निकालेर बिक्री वितरण गरिँदै आइएको छ । यो नै यहाँको अहिलेको प्रमुख आम्दानीको स्रोत हो । यसरी पत्रे चट्टानको उत्खनन गर्दा भने भौगोलिक वातावरण नखजमजिने गरी कार्य गर्नु आवश्यक छ । यी भूनिधिको औचित्यपूर्ण तरिकाले दोहन गरी यहाँको आयस्रोत बढाउँदै रोजगारीका अवसर पनि सिर्जना गर्न सकिन्छ ।
    यहाँ मनोरम प्राकृतिक दृश्यावली प्रशस्त मात्रामा देख्न पाइन्छ । वरिपरिको वनेलु सुन्दर वातावरण र टाढाटाढासम्म देखिने सुन्दर दृश्य त छँदै छ त्यसका अतिरिक्त हिमाली सौन्दर्यको रसास्वादन गर्नका लागि पनि यो ठाउँ धेरै उपयुक्त छ । माईको स्थानको उत्तर दिशातिर लस्करै मिलेका सेता दाँत देखाएर हाँसेका अन्नपूर्ण र धौलागिरी हिमशृङ्खलाको दृश्य जति हेरे पनि चर्मचक्षु अघाउँदैनन् । अर्जेवाको पुछारबाट बगेको कालीनदीको फन्को, पर्वतको फलेबासको सुतेको फाँट, छिस्तीको भिरालो बस्ती, नाम्दुकको भञ्ज्याङ, राङ्खानीको मगर वस्ती, दमेकका टाकुराहरू, रायडाँडाको खोँच, कुस्मिसेराको वैभवले यात्रीहरूको मनलाई मन्त्रमुग्ध पार्दछ । शिशिर याममा हाँडीकोटमा पर्ने हिउँको स्पर्शले यस सुन्दर भूमिको मोहकतालाई अझै जीवन्त बनाउने काम गर्दछ । हाँडीकोटबाट त गुल्मी, पाल्पा, पर्वत र कास्कीसम्मका भूभागहरू सहजै देख्न सकिन्छ । यसरी दूरबिनाको पनि दूरबिन बनेको यहाँको रमणीय वातावरणले पथिकहरूको थकानलाई आफ्नै सौन्दर्यमा समाहित गरिदिन्छ ।
    यहाँको पर्यटकीय क्रियाकलापलाई जिउँदो÷जाग्दो बनाउनका लागि र अभ्यागतको मन बहलाउनका लागि सालैजो गीत पहिलो मनोरञ्जक साधन बन्न सक्छ । समग्र बागलुङको पहिचान बोकेको सालैजो गीत प्रख्यात स्थानीय लोक भाका हो । यसको संरक्षणका लागि र पर्यटकलाई आकर्षित गर्नका लागि राङ्खानीका मगरसमुदायले प्रयास गर्नुपर्छ । त्यस्तै पाहीमा निर्माण गरिने नेपाली कागजको उत्पादन पनि चित्ताकर्षक बन्न सक्छ । यस्ता मौलिक विशेषताको संरक्षण र प्रदर्शन नै पर्यटकलाई आकर्षित गर्ने पहिलो खुट्किलो हो ।
    अब हामीले ढिलो नगरी कृषि पर्यटनको अवधारणा आरम्भ गर्नुपर्छ । मन्दिरकोे पनि व्यापक प्रचार प्रसार गर्नुपर्छ । यसो गर्न सकिएका खण्डमा यस क्षेत्रमा पर्यटकीय क्रियाकलाप बढेर जाने अवस्था सिर्जना हुन्छ । घरपालुवा कालिजको पालन गरी यहाँको वनेलु कालिजको रन्को मेटाउन सकिन्छ । वनैया कालिज संरक्षणका लागि योजना बनाउनु पर्छ र संरक्षित क्षेत्र भनेर घोषणा पनि गर्नुपर्छ । टिमुरको व्यावसायिक खेती, मुसेलीको संरक्षण, नास्पतिका ठुलाठुला बगैचाको निर्माण, चिराइतो खेती, कागति खेती, कफी खेती र अलैँचीको उत्पादन गरेर जैमिनि क्षेत्रकै आर्थिक उन्नति गर्न सकिन्छ । मौरी पालन र खरायो पालनका लागि त यहाँको जमिन अति आकर्षक मानिन्छ । यहाँ पर्याप्त मात्रामा वनक्षेत्र भएको हुनाले मौरीको चरन क्षेत्र पनि प्रशस्त छ । मौरी र खरायो पालनका लागि यहाँको वातावरण अत्यन्तै अनुकूल छ । त्यसैले कृषि पर्यटनलाई जैमिनि नगरको विकासको आधार बनाउने दिशातिर लम्किनु पर्छ ।
     पर्यटकीय चहलपहल बढाउनका लागि पूर्वाधार निर्माणमा पनि जोड दिनुपर्छ । सबै भन्दा पहिले कम्तीमा पनि कुस्मिसेरामा वा ब्याडथलामा गुणस्तरीय होटेल वा घरबासको व्यवस्था मिलाउनु पर्छ । दीर्घकालीन विकासका लागि गुरुयोजना पनि बानइदै छ (मेयर इन्द्रराज पौडेल) । मन्दिरको वरिपरि संरक्षित क्षेत्र घोषणा गरी गुराँसे वनको जगेर्ना   गर्नुपर्छ । कुस्मिसेरादेखि ब्याडथलासम्मको मोटर बाटो बारै माहिना सञ्चान गर्न सकिने बनाउनु पर्छ । मोटरबाटोका साथसाथै परम्परागत पैदलमार्गको पनि स्तरोन्नति गर्नुपर्छ । पैदलमार्गलाई बिस्तार गरी हाँडीकोटलाई दक्षिणतिरबाट परिक्रमा हुने गरी पदमार्ग बनाउनु पर्छ । त्यस पदमार्गलाई नाम्दुकको डाँडो हुँदै डाँडैडाँडा दमेकको गाजाको दहसम्म पु¥याउनु पर्छ । गाजाको दहबाट तल झरेपछि टिमुरे खोलाको तिरैतिर फेदी हुँदै कुस्मिसेरा पुग्ने साहसिक पदमार्ग निर्माण गरिनु पर्छ । यो पदमार्ग यहाँका स्थानीय पाषाणको प्रयोग गरी यस्तो आकर्षक बनाउनु पर्छ कि त्यसले चाइनाको ग्रेटवालको झल्को मेटाइदियोस् । यसरी कुस्मिसेराबाट पहिलो दिनको बिहान यात्रारम्भ गरेको पथिक दुई दिनको पैदल यात्रा पूरा गरी दोस्रो दिनको बेलुका सुस्ताउन फेरि कुस्मिसेरा आइपुग्छ । यसरी यस क्षेत्रमा आउने पर्यटकले साँच्चै केही कुरा प्राप्त गरेँ, केही मात्रामा रोमञ्चक अनुभूत गरेँ भन्ने बोध गर्दछ । त्यसका लागि त पर्यटकलाई सालैजोको भाका भट्याएर मोहित पार्ने र रात्रीकालीन बास बसाइको प्रबन्ध पनि मिलाउने सर्त पहिला पुरा गर्नुपर्छ ।
 

७ सुझाब
    काठका ठेकी र अन्य घरायसी भाँडा बनाउने बाहनामा गुराँसका रुखहरू मासिँदै गएका छन् । सर्वप्रथम तिनको रक्षा र मन्दिरको आम्दानीलाई व्यवस्थित गर्नुपर्छ । हरेक वर्ष ५० हजारको ठेक्काबापत प्राप्त हुने रकम मालपोत कार्यालयले आफूखुसी खर्च नगरी मन्दिरको भौतिक विकासमा खर्च गर्नुपर्छ । माईको थान धर्मिक क्षेत्र विकास समिति प्रशासन कार्यालयमा दर्ता नै गरेर काम सुरु गर्नुपर्छ । बिना पैसा कुनै काम गर्न नसकिने भएका हुनाले नगरपालिका, जिल्ला समन्वय समिति, गुठीसंस्थान र प्रदेश सरकारले यहाँ पूूर्वाधार निर्माण गर्नका लागि चासो दिनुपर्छ । कसरी यहाँको विकास र प्रचार प्रसार गर्न सकिन्छ भनेर योजना तर्जुमा गर्नुपर्छ । रुखबिरुवाको फडानीलाई रोकी पर्यटन प्रबर्धनका लागि सेताराता गुराँसका बिरुवा रोप्न आवश्यक छ । अनियन्त्रित दार र गुराँसका रुखको कटाइले वातावरणमा प्रतीकूल असर पार्न सक्छ । चोरी सिकारीका कारण जनावरहरू लोप हुन सक्छन् । कालिज र लुइँचे जस्ता संरक्षित पंक्षी विनास हुनबाट जोगाउनु पर्छ । यहाँका जडीबुटीको मूल्य पहिचान गरी व्यवस्थित मात्रामा दोहन गर्नुपर्छ । बिजुली, खानेपानी, यातायात र बसोबासको उचित प्रबन्ध मिलाउनुपर्छ । मन्दिरको ऐतिहासिक र पुरातात्विक महŒवका बारेमा प्रचार प्रसार गरिनु आवश्यक छ । यसका बारेमा गहन अध्ययन अनुसन्धान हुनु पनि अत्यावश्यक छ । मन्दिरका पुजारीलाई मासिक पारिश्रमिक दिने, मन्दिरको पाली निर्माण गर्दाका बखतको भुक्तान हुन बाँकी ज्याला ज्यामीलाई र निर्माण सामग्रीको मूल्य व्यवसायीलाई भुक्तान दिनुपर्छ ।
    ब्याडथलामा वनभोजको रमाइलो गर्ने ठाउँको प्रबन्ध पनि मिलाउन सकिन्छ ।    नेपाली कागज बनाइने सेतभरुवा प्रजातिको वनस्पित संरक्षण हुनुपर्छ । स्लेट ढुङ्गा, तामा र निलो तुथो जस्ता खानीको उत्पखनन गर्न आवश्यक छ । स्लेटकै प्रयोग गरी हाँडीकोट र मन्दिरको परिक्रमापथ निर्माण गरिनु पर्छ । आगन्तुकलाई कोसेली दिनका लागि राडीपाखी र बाँसबाट निर्मित सामग्रीको उत्पादनमा जोड दिनुपर्छ । मगर संस्कृति झल्किने घरहरू, होटलहरू र घरबासहरू निर्माण गरिनुपर्छ । हालसम्म व्यवस्थापन समिति समक्ष कुनै योजना नभएका अवस्थामा (प्रेमबहादुर राना) बृहत् योजना पनि निर्माण गर्नुपर्छ । नगरपालिकाले आफ्नो सुस्त गति चलायमान गराउनुपर्छ । प्रदेश सरकाले पनि पर्यटकीय गन्तव्यमा राख्नुबाहेक उल्लेख्य काम केही गरेको छैन । त्यसैले यस क्षेत्रको विकास गर्नका लागि यहाँका बासिन्दा नै जुझारु भएर लाग्नु पर्छ । माईको थान धार्मिक क्षेत्र विकास समिति गठन गरिनुपर्छ । हाम्रो ठाउँ कसैले दया गरेर बनइदिदैन । हामी आफै मिलौँ र जनसहभागितामा थन्थापेश्वरी भगवतीको मन्दिर क्षेत्रलाई पर्यटकीय ठाउँ बनाऔँ । सबैभन्दा पहिले यहाँसम्म पुग्ने प्रभावकारी मोटरबाटो निर्माण गर्नुको विकल्प त छँदै छैन । माईको थान क्षेत्र भिल्लका देशमा मणी मिल्किएसरि मिल्किएको छ । यसको संरक्षण गर्ने चासो यहाँको समुदायले राखेकै छैन । यहाँको धर्मिक र पर्यटकीय सम्भावना नबुझेर वा ज्ञानको अभावमा जैमिनि नगरपालिकाले सुनको कचौरामा भिख मागिरहेको जस्तो देखिन्छ । बस् !
 

८ निष्कर्ष
    बागलुङ जिल्लाको सदरमुकामबाट करिब ३७ किलोमिटर पश्चिममा अवस्थित थन्थाप (माई) भगवतीको मन्दिर ऐतिहासिक तथा धार्मिक स्थल हो । समुद्र सतहबाट करिब २२०० मिटर उच्चाइमा अवस्थित मन्दिरमा प्राप्त भएको ताम्रपत्रअनुसार यो मन्दिर अर्जेवाका सकसबहादुर नायकले १८६५ मा अर्जेवाको थाम्काबाट स्थानान्तरण गरी मन्दिरको संरचना समेत निर्माण गरेका हुन् । हरेक दिन पूजाआजा हुने यस मन्दिरमा चैत्राष्टमी र विजयादशमीमा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । सत्तलशैलीमा बनाइएको मन्दिरको पुनर्निमाण १९८९ र २०५८ सालमा भएको हो । यी माईमा त्यस्तो शक्ति छ जसले रोगले पीडा दिएका समयमा, असाहाय भएका अवस्थामा, शत्रुले हस्तक्षेप गरेका बखतमा र जुनसुकै अभर पर्ने परिस्थितिमा ढाडस दिन्छिन् । यी माई प्राचीन कालमा केबल माई मात्र थिइन् तर कालान्तरमा पौराणिक देवी भगवतीमा रूपान्तरण हुन    प'गिन् । सामाजिकको यिनीप्रतिको जति मात्रामा विश्वास र जति यिनको शक्ति छ त्यति मात्रामा प्रचारप्रसार हुन सकेको छैन । प्राय ब्राह्मण जातिका मानिस पुजारी बन्ने प्रचलन भए पनि सबै खस÷आर्यहरूलाई मन्दिरमा पूजा गर्न कुनै रोकतोक छैन । भगवती मन्दिरले थन्थाप क्षेत्रको पसिना, पौरख र इतिहासलाई स्पष्ट रूपमा देखाएको छ । हिमाली सौन्दर्यका पारखीहरूका लागि पनि आकर्षक गन्तव्य बनेको छ । दर्जनौँ प्रजातिका जडीबुटी, आधादर्जन भौगर्भिक खानी, दर्जनाँै प्रजातिका वनैया जीवजन्तु र गुराँसे वनको हरियालीले यहाँको वातावरणलाई ज्यादै सुन्दर बनाएको छ । हालसम्म पनि मन्दिरको गुरुयोजना नबन्नु, भौतिक विकासका गतिविधि शून्यप्राय देखिनु, पुरातŒव विभाग एवं गुठी संस्थान यहाँको विकास र प्रचार प्रसार नगरी आँखा चिम्लेर बस्नु यहाँका कमजोरी हुन् । यस क्षेत्रकी रक्षक माई भगवतीको धार्मिक, सांस्कृतिक, पौराणिक, ऐतिहासिक, पुराताŒिवक र पर्यटकीय महŒव प्रचूर मात्रामा रहेको छ । यसले नेपाली समाजको अलौकिक शक्तिप्रतिको हदैसम्मको अस्थालाई राम्रैसँग झल्काएको छ । थन्थाप भगवतीको मन्दिर धार्मिक र पर्यटकीय आस्थाको धरोहर नै हो ।
 

सन्दर्भ स्रोत
उपाध्याय, उमानन्द, जैमिनि नगरपालिका ६ अर्जेवा, बागलुङ ।
उपाध्याय, चूडामणी, जैमिनि नगरपालिका ७ कुस्मिसेरा, बागलुङ ।
के.सी., रत्नबहादुर, जैमिनि नगरपालिका १ कुस्मिसेरा, बागलुङ ।
राना, प्रेमबहादुर, जैमिनि नगरपालिका ७, ब्याडथला, बागलुङ ।

शर्मा, इन्द्रराज, जैमिनि नगरपालिका बागलुङ ।

शर्मा पाध्या, योगेश्वर, जैमिनि नगरपालिका १ कुस्मिसेरा, बागलुुङ ।



परिशिष्ट १

Comments

  1. जैमिनी न पा ७ सर्कुवा नभई जैमिनी न पा ४ सर्कुवा हुनुपर्ने हो सर

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Bharat Raj Panta भरतराज पन्त

प्रेतकल्प उपन्यास एक दृष्टि

प्रभा भट्टराई